काठमाडौंः  पत्नी हत्याको कसुरमा जेल परेका सशस्त्र प्रहरी बलका तत्कालिन नायव महानिरिक्षक (डीआईजी) रञ्जन कोइराला यस दशकममा बिख्यातमा आएका एक पात्र हुन्।

पहिलो त, उनले पत्नी गीता ढकालको हत्या गरेर  फ्याँके, चित्त नबुझेपछि फेरि लास हेर्न फर्किए। अनि, घटनाको पर्दापण पनि भयो।

दोस्रोचाहिँ, सर्वोच्च अदालतबाट सजाय पाएका उनले तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग ‘आर्थिक सम्झौता’ गरी सजाय घटाएर जेलमुक्त भएको चर्चा चल्यो। त्यसबेला प्रधानन्यायाधीश राणाको चित्तमा लागेका कारण उनी बाहिर निस्कने व्याख्या भएको थियो।

राजा शैलीमा प्रेमीकासँग जेलमुक्त भई निस्किएका कोइरालाको खुसी कहाँ लामो समय टिक्न पायो र? भनिन्छ नि, पाप धुरीबाट कराउँछ। हो, सर्वोच्चको धुरीले उनको कर्मको सजायमा फेरि पनि अवलोकन गरेको थियो।

उक्त फैसलाको पुनरावलोकन हुँदै पक्राउ गरी थुनामा राख्न आदेश दिइयो, कोइरालालाई। अनि, उनलाई पक्राउ गरि जेल पठाइयो।

त्यसको पूर्णपाठ आएको छ। पूर्णपाठका केही अंश यस्ता छन्–

चित्तमा लागेको भरमा कैद मिनाहा गर्दै जाने हो भने कानुनले न्यायाधीशलाई दिएको स्वविवेकीय अधिकारको दुरुपयोग हुने व्याख्या सर्वोच्चले गरेको छ।

तीन सदस्यीय इजलासले न्यायाधीशलाई चित्तमा लागेको कुरा आधार र कारणबाट पुष्ट्याइँ हुनुपर्ने व्याख्या गरिदियो। ‘न्यायाधीशले गर्ने निर्णय सार्वजनिक सम्पत्ति हुन पुग्ने भएबाट चित्तमा लाग्यो तसर्थ सजाय घटाइयो भन्नु (मुलुकी ऐनको अदालती बन्दोबन्दीको १८८ नम्बर) का लागि पर्याप्त नहुने,’ प्रधानन्यायाधीश दीपककुमार कार्की, टंकबहादुर मोक्तान र डा. कुमार चुडालको इजलासले गरेको फैसलामा भनिएको छ, ‘प्रस्तुत मुद्दामा पनि बर्णित आधार कारणबाट निज प्रतिवादी (रञ्जनकुमार कोइराला)लाई सजाय घटी गर्नुपर्ने गरी चित्तमा लाग्ने वस्तुगत आधार कारण देखिन आउँदैन।’

१२ जेठ २०७९ मा कोइरालाको कैद मिनाहा हुने भनी संयुक्त इजलासले गरेको फैसला उल्टिने भनी पूर्ण इजलासले गरेको फैसला सार्वजनिक भएको हो।

सर्वोच्च अदालतले २०६९ सालको नजीर उद्धृत गर्दै कोइरालाको कैद मिनाहाको राय उचित नभएको व्याख्या गरेको थियो। त्यो नजिरमा ‘न्यायाधीशलाई चित्तामा लाग्ने भन्ने कुरा मनोगत हुन नसक्ने’ भनी व्याख्या भएको थियो ।

चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले त्यसलाई ८ वर्ष ६ महिना कायम गर्ने भनी राय लेखेका थिए। जुन सजाय भागीसकेर कोइराला बाहिर निस्किएका थिए।

रञ्जन कोइराला ८ माघ २०६८ देखि ७ साउन २०७७ सम्म थुनामा बसेका थिए। सर्वोच्च अदालतले कैद घटाएपछि रिहा भएका उनी फेरि त्यो फैसला उल्टी भएपछि १३ जेठ २०७९ मा पक्राउ परेका थिए।

रञ्जन कोइरालाले करिब एक दशर्कअघि आफ्नै श्रीमती गीता ढकालको हत्या गरेर लासलाई टुक्राटुक्रा पारी काठमाण्डौंबाट मकवानपुरको जङ्गलमा पु¥याएर जलाएका अदालती विवरणहरूमा उल्लेख थिए।

त्यसैगरी कोइरालाले हत्या गर्नु अगाडिदेखि नै आफ्नी श्रीमतीमाथि मानसिक र शारीरिक यातना दिनेगरेको ती विवरणहरूमा जनाइएको थियो।

जसको पछाडि घटनाकी अर्की प्रतिवादी तारा रेग्मीसँग कोइरालाको प्रेम सम्बन्ध कारण रहेको ढकालले जीवित छँदै दिएका निवेदनमा उल्लेख गरिएको अहिले पनि पाइन्छ। सर्वोच्चको सजाय छुट दिने फैसलामा समेत उनीहरूबीच ‘घनिष्ट सम्बन्ध’ रहेको उल्लेख गरिएको थियो।

उनलाई जिल्ला र तत्कालीन पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए। सशस्त्र प्रहरीमा उनका समकालिन र चिन्नेहरूका अनुसार उनी महानिरिक्षक (आईजी) हुने लाइनमा थिए। तर, घटनाको व्याख्यालाई विश्लेषण गर्ने हो भने उनी प्रेमीका रेग्मीको पिरतीका कारण पत्नी हत्यारा ठहर भई जेलमा छन्।-तेस्रोकोणबाट