विराटनगर/ विराटनगरका व्यवसायीले भारत सरकारको फिल्ड अफिस हटे पनि व्यापार सहजीकरण गर्ने वाणिज्य कार्यालय राख्न माग गरेका छन् । भारतसँग निर्भर रहेको मुलुकको अर्थतन्त्रप्रति संकेत गर्दै यहाँका व्यवसायीले नेपाली व्यवसायीको हितका लागि यस्तो कार्यालय आवश्यक रहेको तर्क गरेका हुन् ।

पूर्व सांसद तथा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले पूर्वी नाका विराटनगर भन्सारबाट भारतीय सामान आयात गर्दा अनेकौँ झन्झट बेर्होनुपर्ने हुँदा सो समस्या समाधानका लागि काठमाडौंस्थित भारतीय दूतावास नै पुुग्नुपर्ने बताए । उनले भारतको कोलकत्तामा रहेको नेपाली महावाणिज्य दूतावासले व्यापार सहजीकरणका लागि महत्वपूर्ण भूमिका खलेको भन्दै काठमाडौंमा दिइने सुविधा विराटनगरमा भए नेपाली तथा भारतीय व्यापारीलाई कम झञ्झट हुने तर्क गरे । ‘मेरो कुनै राजनीतिक स्वार्थको कारण यो कुरा भनिरहेको छैन’, शारडाले भने, ‘मुलुकको विकेन्द्रीकरणको नमुना यहाँबाट पनि शुरु गर्न सकिन्छ, केवल हामीले हेर्ने दृष्टिकोण बदल्नुु आवश्यक छ ।’

उनका अनुसार २ देश भारत र चीनसँगको वाणिज्य सम्बन्धलाई प्रगाढ बनाए मात्र नेपाली अर्थतन्त्रले यथोचित फाइदा लिन सक्छ । तर, शंकाको भरमा व्यवहार गरे मुलुक हित नहुने उनको बुुझाइ छ । ‘भोलि केरुङ नाका खुलेपछि चीनको वाणिज्य कार्यालय राख्नैपर्ने हुुन्छ । २ देशबीचको व्यापारिक सेवा सहजीकरणका लागि यस्ता वाणिज्य कार्यालय उत्तम हुन्छन्,’ उनले भने ।

छिमेकी मुलुकबीचको सबै सम्बन्धलाई राजनीतिक शंका उपशंकाले मात्र हेर्न नहुने बताउँदै विराटनगर तथा आसपासका व्यवसायीलाई सहज हुने वाणिज्य कार्यालय राख्न सरकारले पहल थाल्नुुपर्ने अन्य व्यवासायीको पनि भनाइ छ ।

नेपाल सरकारले विराटनगरमा रहेको भारतको फिल्ड अफिस हटाउने तयारी थालेपछि व्यवसायीले काडमाडांैस्थित भारतीय दूतावासबाट लिइँदै गरेको वाणिज्य सेवा विराटनगरबाट पनि शुरु गर्नुुपर्ने बताउँदै आएका छन् ।

२०६५ मा आएको बाढीले कोशीको तटबन्ध भत्काएपछि सो कार्यालयको स्थापना भएको थियो । तटबन्धको काम सकिएसँगै सो कार्यालय हटाउन माग हुँदै आएको थियो । बाढीपीडितलाई राहत उपलब्ध गराउँदा नेपालका सवारी साधनहरूले भारतीय भूमि प्रयोग गर्नुपर्ने भएका कारण सवारी पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो ।

नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री भएको बेला फिल्ड अफिस बन्द गर्न पत्र काटेको भए पनि भारतले केही भनेको थिएन । तर, यही जेठ ५ गते नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले घोषणा गरेको ३ दिनपछि भारतले सो कार्यालय हटाउने औपचारिक जानकारी दिएको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराइसकेको बताइएको छ ।

‘जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएको र भारत सरकारले अफिस बन्द गर्ने र कर्मचारीलाई अन्यत्र लैजाने निर्णय गरिसकेको’ भन्ने भनाइ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।