इटहरी/ धेरैले रुचाउँदै आएको ढिँडोको स्वाद अब इटहरीमा पनि पाइने भएको छ । इटहरी–६ स्थित संगीत चोक नजिकै व्यवसायी विक्रम लिम्बूले सञ्चालनमा ल्याएको जिरे खुर्सानी होटलमा ढिँडोका पारखीले ढिँडो खान पाउने भएका हुन् ।
सो होटल आइतबार विशेष समारोहका बीच उद्घाटन भएको छ । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले रिबन काटेर सो होटल विधिवत रूपमा सञ्चालन भएको जनाए । पराजुलीले हटहरीको व्यवसाय फराकिलो बन्दै गएको भन्दै बजारमा विविधताको आवश्यकता पर्ने बताए । उनले धेरै मान्छेको उपस्थिति भएको ठाउँमा मान्छेअनुसारका परिकारका स्वाद पनि बढ्ने हुँदा होटलले थप प्रगति गर्नेमा विश्वस्त भएको जनाए ।
प्रशासनको चौतर्फी घेरामा परिरहेको होटल व्यवसाय चलाउन केही कठिन भएको भन्दै कानुनबमोजिम सञ्चालन भएका व्यवसायमा आफूले सक्दो सहयोग गर्ने पराजुलीले जानकारी दिए । संघका वरिष्ठ उपाध्यक्ष गोविन्द थापाले मान्छेको रुचिको परिकार स्पेसल पाइने ठाउँ भएको हुँदा इटहरी आउँदा ढिँडो खोज्ने पाहुुनालाई देखाउन सजिलो भएको बताए । होटल व्यवसायी तेज पुरीले ढिँडो स्वास्थ्य र जिब्रोका लागि फिट हुने भन्दै आफ्नो मौलिक संस्कृति बोकेको परिकारको प्रवद्र्धन गरिने बताए ।
सञ्चालक लिम्बूले करिब ३० लाख लगानीमा होटलको सञ्चालन गरेको बताए । पछिल्लो समय धेरैले ढिँडो खोज्ने भएको हुँदा ग्राहकको माग र स्वास्थ्यलाई मध्यनजर गरेर नेपाली परिकार राखेको उनले जानकारी दिए । उनका अनुसार होटलमा जौ, कोदो, मकै जस्ता नेपालमा उत्पादन भएका अन्नको पिठोबाट ढिँडो बनाइन्छ । अझ उच्च पहाडी भेगमा हुने याङ्देन नामको एक प्रकारको झ्याउको समेत अचार बनाइने हुँदा धेरैको रोजाइमा पर्ने विश्वास लिएको लिम्बूले बताए ।