इटहरीः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले अहिले पनि राष्ट्रिय मेलमिलाप दिवस उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । ४३ औं मेलमिलाप दिवसको अवसरमा नेपाली काङ्ग्रेस सुनसरी जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वार्थमा राजनीतिक दलहरू एक हुनुपर्ने बताए ।

बीपीले सबैको मान, इज्जत र सबैको प्रतिनिधित्व गर्नको लागि मेलमिलाप दिवसको अख्तियर गरेको उनको भनाइ थियो ।
‘हिन्दुस्तानका धेरै नेताहरूले बीपीलाई रोक्न खोजेका थिए तर नेपाल नफर्कँदासम्म नेपालमाथि समस्या हुनेवाला थियो’, उनले भने, ‘पाकिस्तान र इरानमाथि हमला हुँदै थियो भने लेण्डुप दोर्जेलाई प्रयोग गरेर सिक्किमलाई भारतले आफ्नो कब्जामा लिइसकेको थियो । त्यहीबेला नेपालमाथि पनि हमला हुन सक्ने बुझेर उनले मेलमिलापको नीति लिएका थिए ।’

बीपीले प्रजातन्त्र र राष्ट्रियताको पनि रक्षा गर्न जरुरी छ भन्ने बुझेर राष्ट्र रहेन भने न राजा न राजनीतिक दल रहन्छन् भन्ने ध्याउन्नमा नेपाल फर्कने सोच बनाएको उनको भनाइ थियो ।

हालको सरकारप्रति कटाक्ष गर्दै उनले सरकार आफँै धर्म परिवर्तनको मसिहा भएको बताए । सरकारले शालीन र भद्र रूपमा काम गर्नुपर्ने तर सरकार हल्लामा रमाउन थालेको उनको भनाइ थियो ।

‘नेपाल वैदिक धर्मको उद्गमस्थल हो । बुद्धको जन्मस्थल हो’, उनले भने, ‘तर सबै धर्मावलम्बीले अपनत्व गरेको देशमा धार्मका नाममा राजनीति हुँदैछ ।’