काठमाडौंः  ‘इन्काउन्टर’ भन्नासाथ साथसाथै प्रश्न बनेर जोडिन्छ ‘फेक’ भन्ने अर्को शव्द। नेपालमा भएका प्रायः इन्काउन्टरमा प्रश्न उठ्ने र उजुरी पर्ने गरेका थिए। हालसालै खासै इन्काउन्टरका घटना नभए पनि तीन बर्षअघिसम्म भएका १२ इन्काउन्टरका प्रश्न उठे र एउटा जाँचबुज आयोग गठन भई प्रतिवेदन सरकारलाई बुझाएर कारबाहीको सिफारिस गरिएको थियो।

तर कताको सिफारिस, कताको कारबाही? सरकारले ०७७ सालमा पाएको प्रतिवेदन त मुसाले खाएछ! भन्ने चर्चा सुरु भएको छ। गुन्डा नाइके, बालक हत्यारा जस्ताको इन्काउन्टरमा प्रश्न उठ्यो, उजुरी परेको थियो। तर, ति इन्काउन्टरको निर्देशन दिने प्रहरी अधिकारी सेवा निवृत्त भइसकेका छन्, प्रतिवेदन पनि ‘फासफुस’ भइसकेको छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिरअलि अन्सारी, फोरेन्सिक विज्ञ डा. हरिहर वस्ती र नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्माको विज्ञ समूहले १२ वटा घटनाको अनुसन्धान सकेर प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगलाई बुझाएको थियो। त्यो प्रतिवेदन कार्यान्वयनका लागि आयोगले सरकारलाई भनेको थियो।

समितिले घटनामा दोषी १६ जना बहालवाला प्रहरी अधिकारी, पूर्वप्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक, पूर्वडिआइजी र जुनियर अधिकृतलाई कारबाही दायरामा ल्याउन सिफारिस गरेको थियो।

खैर, यस्ता सिफारिस भए पनि घटना र मारिनेचाहिँ कस्ता थिए भन्ने नैतिक र सामाजिक प्रश्न पनि खडा नभएका होइनन्। यद्यपि एक पटक त्यसको चर्चा गरौं।

आयोगले काठमाडौंका चारवटा इन्काउन्टरका घटना र तराई–मधेश आन्दोलन क्रममा भएका विभिन्न घटनाको अनुसन्धान गरी सुझावसहितको प्रतिवेदन दिएको थियो।

काठमाडौंमा भएको घैंटे, चरी, भक्तपुर, कुसुन्तीको घटनामा फेक इन्काउन्टर भएको बताइएको थियो।

२१ साउन २०७१ मा काठमाडौंको भीमढुंंगामा प्रहरी इन्काउन्टरमा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ मारिएका थिए।

राजनीतिको आडमा संगठित अपराधमा संलग्न गुन्डा नाइकेको सफाइ गर्ने उद्देश्यले प्रहरीले इन्काउन्टर गरेको थियो। प्रहरी इन्काउन्टरपछि अधिकारी परिवारले व्यक्तिलाई निःशस्त्र अवस्थामा समातेर मारेको भन्दै अनुसन्धान माग गर्दै आयोगमा उजुरी दिएका थिए।

दोस्रो इन्काउन्टरमा गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ लाई काठमाडांैको सामाखुसीमा ३ भदौ २०७२ मा मारियो। उनले आफूलाई प्रहरीबाटै असुरक्षा भएको भन्दै मारिनुभन्दा एक महिनाअघि  आयोगमा उजुरी दिएका थिए। उजुरी दिएको एक महिनामा प्रहरीको इन्काउन्टरमा श्रेष्ठ मारिए। प्रहरीले आफूहरूमाथि गोली प्रहार गरेकाले जवाफी कारबाहीमा श्रेष्ठ मारिएको दाबी गर्दै आएको छ।

भक्तपुरमा ११ वर्षीय बालक निसान खड्काको अपहरणपछि हत्यामा संलग्न गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर भएको थियो। त्यस्तै, २३ साउन २०७४ मा ललितपुरको कुसुन्तीमा लागूऔषध कुलतमा फसेका युवक प्रवीण खत्रीको इन्काउन्टरको विषयमा पनि विज्ञ टोलीले अनुसन्धान गरेको थियो।

अब यी घटना र प्रतिवेदन त त्यस्तै हो, अपराधमाचाहिँ केही न्युनिकरण भएको अनुभुत भइरहेको बताइन्छ। काठमाडौंमा गुन्डागर्दी नियन्त्रणमा आइसकेको थियो।