काठमाडौंः अन्य महिनामा आम्दानीभन्दा बढी खर्च गर्ने सरकारले साउनको तेस्रो सातासम्ममा भने खर्चभन्दा बढी आम्दानी गरेको छ ।
आर्थिक वर्ष २०८०-८१ को तेस्रो सातामा सरकारले ४४ अर्ब ३ करोड ९७ लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने १६ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ मात्र गरेको छ ।
अपेक्षित राजस्व संकलन गर्न नसक्दा बर्सेनि ऋण थप्दै घाटा बजेट ल्याउँदै गरेको सरकारले चालू आवका लागि पनि घाटा बजेट नै ल्याएको थियो ।
सरकारले चालू आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरेको छ भने आम्दानी १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ गर्ने लक्ष्य लिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले राजस्वबाट १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको छ । गत आवमा कुल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले ९ खर्ब ५७ अर्ब १५ करोड ४१ लाख रुपैयाँबराबर मात्रै राजस्व उठाउन सकेको थियो । जसले गर्दा राष्ट्रको आम्दानीभन्दा खर्च बढ्न गई वैदैशिक कर्जा बढ्न गएको थियो ।
चालू आवमा पनि यही सिलसिला चल्ने अर्थविदहरूको भनाइ छ । यसपालि पनि १० खर्बभन्दा बढी राजस्व उठाउन नसक्ने आँकलन गरिएको छ । तथापि, आव सुरु भएको २२ दिनसम्ममा सरकारले कुल लक्ष्यको ३ प्रतिशत आम्दानी गरिसकेको छ । राजस्व भने कुल लक्ष्यको २ दशमलव ५७ प्रतिशत उठाइसकेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंगलबारसम्म ३६ अर्ब ५३ करोड ७१ लाख राजस्व उठेको छ । १३ खर्ब ५ अर्ब ४७ करोड कर राजस्व उठाउने लक्ष्य राखेको सरकारले सो शीर्षकमा मंगलबारसम्म २ दशमलव ६८ प्रतिशत राजस्व उठाएको छ । कर राजस्वतर्फ ३४ अर्ब ९७ करोड ६७ लाख राजस्व उठेको हो । यसैगरी, गैरराजस्वतर्फ भने १ अर्ब ५६ करोड ४ लाख रुपैयाँ उठेको छ । सो शीर्षकमा १ खर्ब १७ अर्ब ६ करोड उठाउने लक्ष्य सरकारले लिएको छ ।
सरकारले गत १५ जेठमा ल्याएको बजेटनुसार ४९ अर्ब ९४ करोड ३० लाख वैदेशिक अनुदान ल्याउने अनुमान गरेकामा हालसम्मको प्रगति भने शून्य रहेको छ । अन्य सहयोगबाट भने सरकारले ७ अर्ब ५० करोड २६ लाख रुपैयाँ प्राप्त गरिसकेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले २२ साउनसम्म चालू खर्चतर्फ ४ अर्ब ४७ करोड ९३ लाख खर्च गरिसकेको छ । सरकारले चालू खर्चका लागि ९ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
पुँजीगत खर्च भने १७ करोड ९८ लाख खर्च भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । अन्य योजनाका लागि कुनै प्रक्रिया चालिनसकेको सरकारले बहुवर्षीय योजनामा सो रकम खर्च भएको जनाएको छ ।
वित्तीय विनियोजनतर्फ भने २२ दिनसम्ममा १२ अर्ब ११ करोड परिचालन गरिसकेको छ । यो विनियोजित बजेटको ३ दशमलव ६६ प्रतिशत हो । गत आवमा दुई पटकसम्म बजेट संशोधन गर्दा पनि चालू खर्च थाम्न सक्नेगरी राजस्व उठाउन सरकार असफल भएको थियो ।
गत आव २०७९÷८० मा कुल लक्ष्यको ६८ प्रतिशत मात्र राजस्व उठ्दा पनि सरकारलाई चालू खर्च गर्न धौधौ भएको थियो । राजस्व, अनुदान र ऋण उठाउन नसकेपछि सरकार चालू खर्चको विनियोजित रकम खर्च गर्न पनि असफल भयो । पैसा नै नभएपछि विनियोजित चालू खर्चको ७९ प्रतिशत मात्र खर्च गर्न सरकार बाध्य भएको थियो ।
वैदेशिक र आन्तरिक कर्जाबाट चालू खर्च गर्न सरकार बाध्य भएको थियो । सरकारले चालू खर्च मात्र १० खर्ब ७ अर्ब ३० करोड खर्च गर्दा राजस्व ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ मात्र उठाउन सफल भएको थियो ।
सरकारले गत आवमा ४ खर्ब ३४ अर्ब घाटा बेहोरेको थियो । गत आवमा पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाखबराबर विनियोजन भएकामा २ खर्ब ३३ अर्ब ६९ करोड ५९ लाखबराबर खर्च गर्न सकेको थियो । वित्तीय व्यवस्था शीर्षकमा २ खर्ब ३० अर्ब २१ करोड ७७ लाखको वार्षिक बजेट रहेकामा १ खर्ब ९० अर्ब १० करोड ८७ लाखबराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक रहेको छ ।
गत आवमा १४ खर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले ४ खर्ब ७२ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको थियो ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।