धनकुटाः धनकुटाका एक किसानले एउटा एभोकाडोको बोटको फलको मूल्य दुइ लाख रुपैयाँ राखेका छन् । धनकुटा नगरपालिका वडा नम्बर ४ स्कुल डाँडाका किसान राजकुमार तामाङको बारीमा लगाएको करिब २५ वर्ष पुरानो बोटमा फलेको एभोकाडोको मूल्य उनले २ लाख रुपैयाँ राखेका हुन् ।

उनको सो बोटमा करिब १२ क्वीन्टल एभोकाडो फलेको छ । अहिले किसानले बारीमै प्रतिकिलो १ सय ७० रुपैयाँ भन्दा बढीमा बिक्री हुने गरेको छ । सोही मूल्यमा पनि सो बोटबाट २ लाख रुपैयाँभन्दा बढी आम्दानी दिन्छ ।

तामाङले भने, ‘यो बोटमा १२ क्वीन्टलभन्दा बढी फल फलेको छ । अहिले बजार मूल्य १ सय ७० रुपैयाँ प्रतिकेजी छ । अहिलेकै भाउमा पनि २ लाख भन्दा बीढ आम्दानी हुनुपर्ने हो । २ लाख रुपैयाँसम्म पाएँ भने बेच्छु ।’

सो बोट उनका बुबाले २०५० सालतिर रोपेको उनले बताए । सो बोट गत वर्ष नै तामाङले १ लाख रुपैयाँमा ठेक्का लगाएका थिए । गत वर्ष यो वर्षको तुलनामा सो बोटमा आधा मात्रै फल फलेको उनको भनाइ छ ।

तामाङको बारीमा अन्य सय वटाभन्दा बढी एभोकाडोका बोट रहेका छन् । जसमा करिब ३० बोट अहिले फल दिने अवस्थामा रहेका छन् । अन्य बोटबाट भने प्रतिबोट १० हजारदेखि ४० हजारसम्ममा बिक्री हुने अवस्थाका छन् । तामाङले भने, ‘यो वर्ष एभोकाडोबाट करिब ७ लाख कमाइ हुन्छ ।’ २०५८ सालमा रोजगारको क्रममा खाडी मुलुक पुगेका तामाङ करिब ८ वर्षपछि नेपाल फर्किएर आफ्नो बुवाले शुरु गरेको एभोकाडो खेतीतर्फ लागेका थिए ।

उनको बारीमा सुन्तलाका बोट पनि छन् तर सुन्तलामा बढ्दो रोग कीराको प्रकोपका कारण सुन्तलाको उत्पादन घट्दो अवस्थामा छ । त्यसैले उनी सुन्तला मासेर एभोकाडोको खेतीतर्फ लागेको बताउँछन् ।

avo kado  (1)

avo kado  (3)