विराटनगर : संखुवासभा जिल्ला कारागार खाँदबारीमा सुरक्षा घेराभित्र दुई जना कैदीको मृत्यु भएको घटनामा प्रहरी मुछिएको छ। 

घटनाको प्रारम्भिक अनुसन्धानबाट मृत्यु हुनुअघि कैदीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलेको हो। कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको प्रत्यक्ष संलग्नता यकिन भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

प्रहरीले निरन्तर दिएको यातना र गरेको कुटपिटका कारण कैदीको मृत्यु भएको भन्दै छानबिन गरेर घटनाका दोषीउपर कडा कारबाही गर्न चौतर्फी दबाब परेको थियो। 

कारागारमा रहेको सीसी क्यामेराको अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो। प्रहरी स्रोतका अनुसार कारागार परिषरमै कैदीमाथि लाट्ठी, लात्ता र मुक्काले बारम्बार प्रहार गरेको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ। 

फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीलाई बिहीबार नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजेशनाथ बास्तोलाले बताए। 

‘कैदीको शंकास्पद मृत्यु भएको घटना बाहिरिएपछि सीसी क्यामेराको फुटेज अध्ययन गरियो। कुटपिटमा प्रहरी नै संलग्न रहेको पाइएपछि १० जनालाई अनुसन्धान एवं छानबिनका लागि नियन्त्रणमा लिइएको छ,’ उनले भने, ‘उनीहरूलाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखेर सोधपुछ गर्दै घटनाका बारेमा थप बुझ्ने काम भइरहेको छ। समिति नै गठन गरेर यस घटनाको छानबिन अघि बढाइएको छ।’

कारागारको सुरक्षामा असइ (प्रहरी सहायक निरीक्षक)को नेतृत्वमा २० जना प्रहरी परिचालन गरिएको थियो। घटनामा प्रहरीको संलग्नता देखिएपछि असइ लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदीहरू संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहानका राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो। 

कारागार प्रशासनको जिम्मा लगाएर पुनः कारागारभित्र हालिएपछि कैदीबन्दीबीच झडप एवं कुटपिट हुँदा तोलाङ्गी र बलामीको मृत्यु भएको दाबी संखुवासभा प्रहरीको थियो। 
संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारले घटनामा प्रहरीको संलग्नता नरहेको दाबी गरेका थिए। 

कारागारभित्र अचेत अवस्थामा भेटिएका कैदीको उपचारका क्रममा खाँदबारी अस्पतालमा मृत्यु भएको जिकिर उनको थियो। कारागार स्रोतले भने बलामीको कारागारभित्रै र तोलाङ्गीको अस्पताल पुर्‍याउनसाथ मृत्यु भएको जनाएको छ। 

‘बलामीलाई कारागारबाटै मृत अवस्थामा निकालिएको हो। अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषित गरे,’ कारागार स्रोतले भन्यो, ‘तोलाङ्गी अस्पताल लैजाँदा अलिअलि बोल्दै थिए। प्रहरीले कुट्यो भनेर सानो आवाजमा भने।’

धेरै बोल्न सक्ने अवस्थामा नरहेका तोलाङ्गीले अस्पताल पुर्‍याएपछि पानी मागेको र पानी पिउनसाथ उनको मृत्यु भएको बताइएको एक स्वास्थ्यकर्मी बताउँछन्। ‘खान मागेपछि पानी दिइयो। दुई घुट्की पिएपछि प्राण गयो,’ उनले भने। 

स्थानीय प्रशासन र प्रहरीको मिलेमतोमा घटनालाई तोडमोड गर्दै सार्वजनिक गरेर प्रहरीको संलग्नता नरहेको देखाउने प्रयास गरिएको भनेर विरोधसमेत भएको थियो। झडप तथा कुटपिटका कारण दुई कैदीको मृत्यु भएको भनिए पनि अन्य कैदीबन्दी तथा प्रत्यक्षदर्शीले भने सादा पोसाकका प्रहरीकै कुटाइले कैदीको ज्यान गएको दाबी गरिरहेका थिए।  

प्रारम्भिक अनुसन्धान तथा सीसी क्यामेरा फुटेजबाट पनि कैदीमाथि भएको कुटपिटमा प्रहरी नै संलग्न रहेको पुष्टि भएको छ। तर, डीएसपी गोदारले घटनामा प्रहरीको संलग्नता नदेखाउनलाई कैदीबन्दीबीचको झगडा भनेका हुन्। घटना नै उनको निर्देशनमा भएको आरोप लाग्दै आएको छ। घटनामा आफू मुछिने र विवादमा पर्ने अवस्था आएपछि गोदारले ‘कैदी हत्याको भारी’ अन्य कैदीबन्दीलाई बोकाउन खोजेको प्रहरी स्रोतले बतायो। 

स्रोतका अनुसार घटनापछि डीएसपी गोदारले देखाएको विवादास्पद भूमिकाले यसको पुष्टि हुन्छ। घटनालाई लिएर समग्र शान्ति सुरक्षाको नेतृत्व गरेर बसेका प्रहरी अधिकारीमाथि पनि छानबिन एवं अनुसन्धान हुनुपर्ने माग मृतकका आफन्तले गरेका छन्। ‘यति गम्भीर घटना हुँदा उहाँ (डीएसपी)ले कस्तो भूमिका निर्वाह गर्नु भयो ? कारागारभित्र कैदीको मृत्यु भएको घटनामा प्रहरीको लापरबाही, गल्ती र संलग्नतालाई किन ढाकछोप गर्न खोजियो ?,’ मृतक तोलाङ्गीकी दिदी भीमा रम्तेलले प्रश्न गरिन्, ‘भनेका बेला हामीलाई भाइको शवसमेत हेर्न दिइएन। तथ्यलाई बंग्याएर पीडित परिवारलाई घटनाको जानकारी गराइयो।’

कैदीबीच झडप भएको देखाएर वास्तविकता लुकाउने प्रयास प्रहरी अधिकारीबाटै भएको गुनासो उनले गरिन्। पछिल्लो परिस्थितिले प्रहरीबाटै भाइको हत्या भएको देखिएको बताउँदै रम्तेलले भनिन्, ‘कारागारमा खटिएकादेखि प्रहरीको नेतृत्व गरेर बसेका अधिकारीसम्मलाई छानबिन, अनुसन्धान एवं कारबाहीको दायरामा ल्याउनुपर्छ।’

दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने मृतकका आफन्तको अडान छ। २४ घण्टा नै सुरक्षा हुने कारागारभित्रका कैदीलाई अचेत अवस्थामा फेला पारेर अस्पताल लगिएको भनिनुले नै प्रहरीको भूमिकालाई शंकास्पद बनाएको उनले बताइन्। 

रम्तेलले आफूहरूलाई घटनाको वास्तविकता नबताइकन प्रहरीले भाइ बिरामी परेको छ भनेर मात्रै जानकारी गराएको बताइन्। मृतक बलामीका आफन्त पनि खाँदबारी आइपुगेका छैनन्। नुवकोटबाट हिँडेका उनीहरू बाटैमा रहेको बताइएको छ।  

घटनापछि जिल्ला सुरक्षा समिति संखुवासभाले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएको थियो। समितिका इन्सपेक्टर सरोज खनाल र प्रशासन कार्यालयका शुब्बा तारणी घिमिरे सदस्य छन्। 

समितिले आफ्नो काम सुरु गरिसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए। उनका अनुसार घटनाको सत्यातथ्य पत्ता लगाउन कारागारमा रहेको सीसी क्यामेराको ‘हार्डडिक्स’लाई नियन्त्रणमा लिइसकिएको छ। 

प्रदेश प्रहरी कार्यालयले पनि एसपी (प्रहरी उपरीक्षक) ऋषिराम कँडेलको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनाएको छ। समितिमा इन्सपेक्टर (प्रहरी निरीक्षक) जितेश दाहाल, सइ (प्रहरी नायव निरीक्षक) रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन्। समितिका सदस्यले संखुवासभा पुगेर बिहीबारदेखि आफ्नो काम सुरु गरिसकेको डीआईजी बास्तोलाले बताए। 

गृह मन्त्रालयले पनि घटनाको छानबिन गर्न कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेको छ। समितिमा नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक) कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका डीएसपी कुमार बुढाथोकी, कारागार विभागका कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रशासकीय अधिकृत (नाम तोकिएको छैन) सदस्य छन्। टोलीले खाँदबारी पुगेर शुक्रबारदेखि आफ्नो काम सुरु गर्ने मन्त्रालयको भनाइ छ। 

गृह प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन पेस गर्न समय उपलब्ध गराइएको जानकारी दिए। ‘सबै कुराको अध्ययन गर्दै घटनाको छानबिन गरेर समितिले सत्यातथ्य रिपोर्ट दिने छ,’ उनले भने, ‘समितिको प्रतिवेदन प्राप्त भइसकेपछि घटनासँग सम्बन्धित सबै कुरा प्रष्ट हुन्छ।’ 

चौकीदारसहित नौ कैदी प्रहरी हिरासतमा 

कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ जना कैदीलाई हिरासतमा राखेको छ। 

कारागारका अनुसार रामकुमार जबरजस्ती करणी मुद्दाका कैदी हुन्। उनीसहित कुमार श्रेष्ठ, अनिष शर्मा, सुमन सारु, टीकाराम भनिने टीकाराज चौहान, सचिन राई, राम गुरुङ, नवीनकुमार राई र योगेन्द्रबहादुर गुरुङलाई प्रहरीले कारागारबाट निकालेर हिरासतमा राखेको हो। 

प्रहरी नियन्त्रणमा रहेकामध्ये कुमार, अनिष, सुमन, सचिन र राम जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी रहेको निमित्त जेलर राजेन्द्र घिमिरेले बताए। उनका अनुसार टीकाराम डाँका र नवीनकुमार तथा योगेन्द्रबहादुर कर्तव्य ज्यान मुद्दाका कैदी हुन्। 

कारागारको आन्तरिक सुरक्षामा समस्या आउने देखिएपछि प्रहरीले नौ जना कैदीलाई नियन्त्रणमा लिएर लगेको निमित्त जेलर घिमिरेले बताए। ‘जेल तोडेर भाग्न खोजेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः बन्दीगृहभित्र पठाएछ। त्यसपछि उनीहरूमाथि अरू कैदीबन्दीले कुटपिट गरेको कुरा आएको छ,’ उनले भने, ‘कुटाइले कैदीको मृत्यु नै भइसकेपछि कुटपिटमा संलग्नहरू कारागारभित्र असुरक्षित हुने अवस्था आयो। घटनाको समेत अनुसन्धान गर्नुपर्ने भएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।’ 

कैदीको मृत्यु प्रकरणमा उनीहरूको संलग्नता छ कि छैनभन्ने कुरा प्रहरीको अनुसन्धानबाट पत्ता लाग्ने उनको भनाइ छ। घटनामा प्रहरीको संलग्नता बारेमा पनि आफूलाई केही थाहा नभएको घिमिरे बताउँछन्। कारागारको अन्तरिक सुरक्षा व्यवस्था मजवुत बनाइएको उनको भनाइ छ। 

कुटपिट गरेर कैदीको हत्या गरेको भन्दै कारागारभित्रका कैदीबन्दीले बुधबार प्रहरीविरुद्ध प्रदर्शन, नाराबाजी र ढुंगामुडा गरेका थिए। घटनामा आफ्नो संलग्नता ढाकछोप गर्न तथा तथ्य लुकाउन अनुसन्धानका नाममा कारागारभित्रका कैदीलाई नियन्त्रणमा लिएको आरोप प्रहरीमाथि लाग्दै आएको थियो। प्रहरीले भने झडप तथा कुटपिटमा संलग्न भएको भन्दै हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

२५ जना क्षमताको संखुवासभा कारागारमा आठ महिलासहित एक सय ३८ जना कैदीबन्दी थिए। दुई जनाको मृत्यु भएपछि अहिले एक सय ३६ जना रहेको निमित्त जेलर घिमिरेले बताए। -अन्नपूर्णपोष्टबाट