इटहरी/ सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ मा सञ्चालित ३ महिने सिलाइकटाइ तालिम सम्पन्न भएको छ ।
महिलालक्षित बजेटअन्तर्गत वडा कार्यालयमार्फत् सञ्चालित सो तालिममा ८८ जना सहभागी थिए । तालिम समापन कार्यक्रममा बोल्दै सुन्दरहरैंचाका नगरप्रमुख शिवप्रसाद ढकालले आगामी आर्थिक वर्षमा महिलाको क्षमता विकासको लागि दोब्बर रकम विनियोजन गरिएको जनाए । महिलाको दक्षता वृद्धिको लागि अन्य शीर्षकको रकम रकमान्तर गरेर भए पनि महिलालक्षित कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
वडाध्यक्ष चैतन्यप्रसाद सिटौलाले तालिम दिने क्रममा कसैलाई पनि कुनै किसिमको भेदभाव नगरिएको बताए । प्रशिक्षार्थीको अत्यधिक निवेदन परेकाले ४० जनाको कोटालाई बढाएर निवेदक सबैलाई तालिम लिने वातावरण वडाले मिलाएको उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका गोकुल न्यौपाने र राजकुमार श्रेष्ठले पार्टीगत धारणाभन्दा माथि उठेर सहयात्रीको भूमिकामा रहेर नगरपालिकाको राम्रा कामको समर्थन गर्ने बताए । हरेक क्षेत्रबाट नगरका सकारात्मक कामका लागि साथ दिनुपर्ने श्रेष्ठले बताए ।
प्रशिक्षक सरस्वती दाहाल र इशरवती माझीले तालिमले बाटो देखाउने काम गरेको र आत्मनिर्भर हुने दिशातर्फ प्रशिक्षार्थी लाग्नुपर्ने बताए । सिलाइकटाइको आधारभूत तालिम लिएका महिलाका लागि माथिल्लो तहको तालिम सञ्चालन हुन सके आत्मनिर्भर बन्न सजिलो हुने प्रशिक्षकद्वयको धारणा थियो ।
कार्यक्रममा वडा सदस्य मीना ओझा, प्रशिक्षार्थी जानुका ओझा र सरिता सापकोटाले आफ्नो धारणा राखेका थिए ।
वडाध्यक्ष सिटौलाको सभापतित्वमा भएको कार्यक्रम वडा सचिव गोपाल ढुंगेलले सञ्चालन गरेका थिए ।