गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो जग्गा हुँदाहुँदै भाडाको जग्गामा रजत महोत्सव मनाउने भएको छ । विश्वविद्यालयले ८ सय ५ बिघा जग्गा रहेको गोठगाउँमा रजत नमानाई विराटनगरमा मनाउन लागेको हो ।

विश्वविद्यालयको प्रशासनिक भवन रहेको जग्गा समेत भाडामा छ । रजत महोत्सव विराटनगरमा मनाउने अन्तिम तयारीमा विश्वविद्यालय पुगेको छ । गाउँगाउँमा सिंहदरबार आएको भनिए पनि विश्वविद्यालयले राष्ट्रपतिलाई ल्याएर मनाउन लागेको रजत जयन्ती गोठगाउँमा नमनाई विराटनगरमा मनाउन लागेको हो ।

पुस १९ गते मनाइने रजत महोत्सव विराटनगरमै हुने उपकुलपति प्रा डा. घनश्यामलाल दासले पत्रकार सम्मेलन गरेर जानकारी गराइसकेका छन् । मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल विश्वविद्यालय भने चुनावी नारामा मात्रै सुधार आएको छ । राजनीति गर्ने थलोको रुपमा मात्रै गोठगाउँको कार्यालय रहने गरेको छ । कार्यालय गोठगाउँमा सार्ने भनेर विश्वविद्यालयको नाममा हरेक चुनावमा हरेक राजनीतिक दलका नेताले भन्ने गरेका छन् । यसरी राजनीति गर्नेहरू अहिले मेयरदेखिसम्म बनेका छन ।

स्थानीय तहको चुनावमा होस् या प्रदेश तथा सङ्घीय संसदको चुनावमा होस् हरेक दलको चुनावी घोषणा पत्रमा विश्वविद्यालयको सबै कार्यक्रम गोठगाउँ सार्ने भनेर उल्लेख गरिन्छ ।

कार्यालय गोठगाउँमा सार्ने भनेर भाषण गरी चुनाव जितेर गएका दुई सांसद भानुभक्त ढकाल कानुन मन्त्री भएका छन् भने लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री बनिसकेका छन् । विश्वविद्यालयका सिनेटर सदस्य राजकुमार ओझा, लोकप्रसाद सङ्ग्रौला प्रदेश सांसद भइसकेका छन् । अर्का सिनेटर सदस्य शिव ढकाल सुन्दरहरैचाका मेयर भएका छन् ।

तर कुनै पनि नेता गोठगाउँमा रजत जयन्ती मनाउन तयार देखिँदैनन् । सरकारले २ दशकअघि गोठगाउँस्थित राष्ट्रिय वनको ८ सय ५ बिघा जमिन पूर्वाञ्चल विश्वविद्यालयलाई उपलब्ध गराएको थियो । सो जग्गामा करोडौं लागतमा निर्मित भौतिक पूर्वाधार यतिबेला लथालिङ्ग अवस्थामा छन् ।

मर्मत अभावमा आकर्षक भवन झाडी र बुट्यानले भरिएर कुरुप बनेका छन् । विश्वविद्यालयभित्रका करोडौं लागतमा निर्मित भवन अहिले जङ्गलभित्रको भूतघर जस्तै देखिन थालेका छन् ।

purbanchal-