सरस्वती बानिया
ओखलढुङ्गाःआँखामा टिलपिल आँसु, मुहारमा खुशीको रङ्ग अनि हातमा, नेपाली नागरिकता । चम्पादेवी गाउँपालिककी आराती कार्की थापालाई १० वर्ष भन्दा लामो सङ्घर्षपछि नागरिकता पाउँदा कतिबेला खुसीको आँसु खस्यो, थाहै भएन ।
आफू नेपाली नागरिक बन्न एक दशकयता गरेको कठिन सङ्घर्षले ०८० साउन १९ गते आरातीलाई २७ वर्षको उमेरमा नेपाली नागरिक बनायो । पति ३० वर्षको हुँदा जिल्ला प्रशासन कार्यालयले साउन १९ गते नेपाली नागरिकताको प्रमाणपत्र दिएपछि आराती निकै हर्षित देखिइन ।विसं ०७१ साल मङ्सिर १८ गते बालिकै अवस्थामा १७ वर्षको उमेरमै चम्पादेवी गाउँपालिका–४ का युवराज थापासँग प्रेम विवाह भयो ।
विवाह भएदेखि नै आरातीले पतिलाई नेपाली नागरिकता बनाइदिन आग्रह ग।िन । पति युवराजले केही वर्षपछि बनाइदिन्छु भनेर आश्वासन दिए ।
नागरिकता बनेँपछि केही जागिर, पेशा, व्यवसाय गर्न सहज हुने र पछिसम्मको भविष्यलाई ढुक्क हुन्छ भन्ने आरातीको मनमा थियो ।
वर्षहरू वित्दै गए, तर पति युवराजले नागरिकता बनाइदिन कुनै सहयोग गरेनन्, उल्टै विभिन्न बहाना बनाउन थालेको आरातीले बताइन । कहिले अझै केही वर्ष कुर भन्ने, कहिले सन्तान भएपछि बनाउनुपर्छ भन्नेजस्ता अड्को थाप्ने गरेको आरतीले बताइन।
विसं ०७४ भदौ ११ गते छोरा जन्मियो । सन्तान भएपछि नागरिकता बनाइदिन्छु भनेको कुरा आरतीले पतिलाई सम्झाइन, तर पतिले आलटाल नै गरी रहेँ ।
छोराको पालनपोषणमा केही वर्ष आरती व्यस्त भए । छोरा हुर्केपछि आरतीले पुन नागरिकताका बनाइन दिन पतिसँग अनुनयविनय गरिन , तर आरातीलाई नागरिकता बनाइदिने कुरामा युवराजले तत्परता देखाएनन् ।
व्यक्तिगत बिन्तीले भएन भनेर, तत्कालीन समयमा आरातीले वडा कार्यालयमा नागरिकता प्राप्तिका लागि पाउने सिफारिस लिन पतिको सहयोगका लागि निवेदन दिइन वडा कार्यालयले पनि त्यो कुरामा वेवास्ता गरेको आरातीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताए । आरतीले भनिन ‘पटकपटक वडा कार्यालय धाँए, न त काम भयो न त मेरो कुरामा त्यो बेला जनप्रतिनिधि र कर्मचारीहरूले नै चासो दिए । कर्मचारीले घरमै बस्नु नागरिकता पाइहाल्छौ नि, किन आत्तिएको भनेको आरातीले स्मरणमा अहिले पनि ताजै छ ।
तीन पटक बढी निवेदनसहित वडा कार्यालय धाउँदा पनि नागरिकताका लागि पहल नभएपछि आरातीले छिमेकी स्थानीय तह सुनकोशी गाउँपालिका–९ कोषभञ्याङ प्रहरी चौकीमा नागरिकता नबनाइ दिएको आरोपमा पतिविरूद्ध निवेदन दिइन।
प्रहरी चौकीमा निवेदन दिएपछि प्रहरीले छलफलमा पतिलाई पटकपटक बोलाएपछि पति प्रहरी चौकीमा नगएपछि आराती र पतिबिच सम्बन्धमा खटपट सुरू भयो । पतिविरूद्ध प्रहरीमा निवेदन दिँदा माइतमै बसि माइतीको सहयोगमा प्रहरीमा निवेदन दिएको आरातीले बताइन ।
नागरिकता प्राप्तिका लागि प्रयासरत रहेको अवस्थामा पति युवराजले आरातीसँग सम्बन्ध विच्छेदका लागि ०७८ माग १९ गते जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे ।
पत्नीसँगको सम्वन्ध विच्छेदका लागि दर्ता गरिएको मुद्दामा जिल्ला अदालतबा ०७९ पुस १८ गते सम्बन्ध विच्छेद नहुँने ठहरसहितको फैसला आयो ।
सम्बन्ध विच्छेदको मुद्दा आरातीले जितेपछि, आरातीले पतिविरूद्ध जिल्ला अदालतमा अंश सम्बन्धी मुद्दा दर्ता गरिन । अंशसम्बन्धी मुद्दामा आरतीकै पक्षमा फैसला भयो ।
नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि आरातीले पतिसँग सम्बन्ध विच्छेद र अंश मुद्दा लड्नु पर्यो । माइतीले सहयोग गरेपनि मुद्दा लड्दाको समयमा धेरै आर्थिक नोक्सान भएको र कठिनाइहरू भोग्नुपरेको आरातीले सुनाइन ।
‘उनले भनिन मैले त नागरिकता मात्र पाउनुपर्छ भनेकी थिएँ तर उल्टै उहाँले ममाथि सोँच्दै नसोचेको आरोपसहित मुद्दा लगाउनु भयो । अदालतले साँचो न्याय दियो । यसमा म खुसी छु । जे पाउनको लागि मैले सङ्घर्ष गरे, आज नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा एकदमै खुशी छु । ’
नागरिकता पाएपछि छोराको लालनपालन, शिक्षा र भविष्यका लागि आफूलाई सहज हुने आरातीको बुझाइ छ ।
नागरिकता पाउनका लागि आफूले एकदशक सङ्घर्ष गर्दा अन्तिममा सफलता प्राप्त भएको आरातीले बताइन। आरातीलाई नागरिकता दिलाउनेबारे सहयोग गरिदन प्रशासन र प्रहरीले समेत फोन गरेर पति युवराजलाई बोलाउँदा पति प्रशासन र प्रहरीको सम्पर्कमा नआएको आरातीको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले आरातीका पति युवराजलाई फोन गरेर बोलाएपछि मात्र उनी प्रशासन आएका थिए । आरातीलाई नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालयले पहल गरेको थियो ।
विवाहपछि पतिले आवश्यक सहयोग र पहल नगरिदिँदा महिलाहरूलाई नागरिकता प्राप्त गर्न कठिनाइ हुने गरेको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले बताइन । यो प्रतिनिधि घटना हो, यस किसिमको समस्याको धेरै महिलाले सामना गर्नु परिरहेको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीको भनाइ छ ।
नेपालको संविधान २०७२ को भाग २ अन्तर्गत धारा १० मा नागरिकता सम्बन्धी हकमा कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने भनी उल्लेख छ । त्यस्तै धारा ११ मा कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने सो व्यक्ति स्वतः वंशजको आधारमा नेपाली नागरिक ठहर्ने भनि उल्लेख गरिएको छ ।