ओखलढुङ्गाः ओखलढुङ्गाका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । जिल्लाको मोलुङ गाउँपालिकाको श्रीचौर, प्राप्चा, हर्कपुर र सिद्धिचरण नगरपालिकाको वर्णालुका सुख्खाग्रस्त क्षेत्रमा रेडक्रसको सहयोगमा सिँचाइ सुविधा पुगेको हो ।

भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत सिद्धिचरण र मोलुङमा सिँचाइ कुलो आयोजनाको काम गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुङ्गाका सभापति सुमन राजभण्डारीले बताए ।

स्थानीयको माग र आवश्यकताका आधारमा प्राप्चामा मोलुङ गरा, हर्कपुरमा बेलीचमेली, वर्णालुमा रङ्गबोटे र साजे सुगारे सिँचाइ कुलो आयोजना निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिएको सभापति राजभण्डारीको भनाइ छ । आइएफ आरसिको सहयोगमा रेडक्रसले निर्माण तथा स्तरोन्नती गरेका चार वटा सिँचाइ आयोजनाबाट एक हजार ५७ परिवारको चार हजार २५५ रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ ।