फाइल तस्बिर
झापाः झापाका २ विभिन्न स्थानमा आगलागी हुँदा १४ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

बाह्रदशी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करिब ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । विद्युत् सर्ट भई दर्जीको घरमा आगलागी भएको बताइएको छ ।

यस्तै कचनकवल गाउँपालिका–४ खुट्टामुनीमा ८ बिघा क्षेत्रफलमा लगाइएको धानको कुन्यूमा सोमबार आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी जाहित मियाँको २ बिघामा लगाइएको धानको कुन्युमा अचानक आगलागी भएको र सोही आगोबाट स्थानीयवासी साकिर मियाँ, सहिदुल मियाँ र जाकिर मियाँले लगाएको ६ बिघा धानको कुन्यूमा आगो सल्किएर धान र पराल जलेर नष्ट भएको हो । दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।