विराटनगरः प्रदेशभित्र आउने अति विशिष्ट व्यक्तिलाई अतिआवश्यक पर्ने सवारीको व्यवस्था प्रदेश सरकारले गर्छ । यसअघि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको दायित्वभित्र पर्ने यो विषय प्रदेश सरकार बनेपछि भने प्रदेश सरकारको दायित्वमा छ ।
विशिष्ट व्यक्तिको विशेष सुरक्षा पनि प्रदेश सरकारसँगै सम्बन्धित छ । तर, लामो समय देखि विशिष्ट व्यक्तिलाई उपलब्ध गराउने सवारी मागेरै काम चलाउँदै आएको प्रदेश सरकारले आफ्नो स्वामित्वमा हुने गरी एउटा विशेष सवारी खरिद गरेको जानकारी दिएको छ ।
भोलिदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको प्रदेश नम्बर १ को भ्रमणको बारेमा प्रदेश सरकारसँग प्रदेश पोर्टलले बुझ्न खोज्दा आफ्नो स्वामित्वमा सवारी खरिद प्रक्रियागत ढङ्गले गरिसकिएको सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिएका छन् ।
यस अघि सिँचाइ, खानेपानी तथा अन्य दातृ संस्थाका सवारी प्रयोग गरिएको र ती सवारीको प्रयोग सुरक्षाका दृष्टिले कति उपयुक्त थिए भन्ने जिज्ञासामा आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका कार्कीले भने, ‘काठमाडौं बाहिर हिँड्दा सुरक्षाको विषय प्रमुखताका साथ उठ्छ । प्रदेश सरकारको भीआइपी बोक्ने गरी एउटा पनि सवारी नभएपछि सरकारले गाडी खरिदको निर्णय गरेको हो ।’
उनका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, अन्य प्रदेशका मुख्यमन्त्री, विदेशका मन्त्रीलगायतले मात्र यो सवारी चढ्नेछन् ।
विशेष सुरक्षा निकायको मातहतमा हुने यो सवारीको खरिद मूल्य करिब २ करोड रहेको बताइएको छ ।