इटहरीः ‘हेल्लो इटहरी उपमहानगरपालिका, खोइ घर नम्बर प्लेट ? खोइ नयाँ प्रणाली अनुसारको ठेगाना ?’ यो प्रश्न हाल इटहरीमा बसिरहेको व्यक्तिको होइन । यो प्रश्न हाल बेलायतमा रहेका इटहरीवासी गोपाल तामाङको हो । उनी फेसबुकमा भने गोपाल कुसुम नामबाट आफ्ना पोस्टहरू सेयर गर्छन् ।

घर नम्बरको मात्रै होइन, इटहरीमा जल्दाबल्दा सरोकारका विषयमा खुब चासो छ तामाङलाई । उनी सामाजिक सञ्जाल, अनलाइन मिडिया आदिबाट सूचना लिएर इटहरीकेन्द्रित आफ्ना भनाइ राख्छन् । केही समय अगाडि इटहरीमा बिहीबार कि शनिबार बजार बन्द गर्ने भन्ने बारेमा बहस भएको थियो ।

सोही बहसमा सामेल भए तामाङ । र, फेसबुक पोष्टमा आफ्नो प्रष्ट कुरा राखे । उनले भने, ‘इटहरीका व्यवसायीहरूले शनिबार बजार बन्द गर्न खोजेर के गर्न खोजेको हो ? शनिबार कर्मचारीको छुट्टी हुने र सबै सरकारी कार्यालय बन्द हुने भएकाले सर्वसाधारण भेटघाटमा जाने गलत तर्कलाई अघि सारेर शनिबार बजार बन्द गर्नु सरासर गलत हुनेछ ।’

यति मात्रै होइन अन्य थुप्रै विषयमा तामाङ बेलायतमा बसेर इटहरीको चिन्ता गर्छन् । २०३६ सालमा हाइस्कुल पढ्दापढ्दै धरानबाट बेलायती गोर्खा सैनिक भएका तामाङ अवकाश भएको लामो समयपछि सन् २००७ मा बेलायतको आवासीय भिसामा बेलायत पुगेका हुन् । बेलाबखत उनी इटहरी आइरहन्छन् ।

41810848_1884517688263135_6968673025755447296_n

इटहरी खानेपानी संस्थामा आबद्ध थिए तामाङ 

खानेपानी संस्थाको अनियमिततालाई चिर्न तामाङले आफ्नो स्तर अनुसार सक्दो काम गरेको उनलाई इटहरीमा नजिकबाट चिनेका व्यवसायी बाबुराम प्रधान बताउँछन् । २०५८ सालमा संस्थाको अधिवेशनमा चुनाव जितेरै साबिकको वडा नम्बर ८ बाट खानेपानी संस्थामा प्रवेश गरेका थिए तामाङ ।

खानेपानी संस्थामा बाहिर आधा इन्च र भित्र ठूलो पाइप लगाएर पानी चोर्ने काम गरिरहेको अवस्थामा रङ्गेहात समातेर कारवाही गर्न तामाङ सक्रिय थिए । इटहरीको खानेपानी सुधारको लागि राजधानी काठमाडौं पुगेर सम्बन्धित निकायमा धाउन पनि तामाङ खटेका थिए ।

उनी भन्छन्, ‘म हुँदा इटहरीको खानेपानीमा सकेसम्म अनियमितता रोकेको थिएँ । पिकनिकजस्ता अनावश्यक शीर्षकमा खर्च गर्न सहमत दिएको थिइनँ ।’
आफू इटहरीमा बस्न चाहेर पनि परिस्थिति र पारिवारिक कारणले बेलायतमा पुगेको बताउँछन् तामाङ । तर, अवसर आएमा इटहरीको लागि सहयोग गर्न तयार भएको उनी बताउँछन् ।

‘एउटा इटहरीमै हुर्केबढेको व्यक्ति र एक गैरआवासीय नेपाली भएको हुनाले जुनै रूपमा भए पनि म इटहरीको लागि भलो चिताउँछु’, तामाङ भन्छन्, ‘स्थानीय सरकारले म र मजस्ता थुप्रै नागरिकको सहयोगमा उत्पादनमूलक र लगानीका काम गरेको हेर्न चाहन्छु ।’