झापाः झापाको काँकरभिट्टामा पहिलो पटक पूर्वाञ्चल फेसन विक हुने भएको छ । आर एस डान्स जुम बिर्तामोडले गर्न लागेको सो कार्यक्रमको तयारी पूरा भएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

स्थानीय मोडलहरूमा रहेको प्रतिभालाई उजागर र गरी उनीहरूलाई थप प्रेरणा प्रदान गर्न बुधबार स्थानीय होटल ग्रीन प्यालेसमा फेसन विक हुने बताइएको छ । फेसन शो भन्नेबित्तिकै धेरैले नकरात्मक दृष्टिकोणले हेर्ने गरेकाले सकरात्मक सन्देश दिन समेत कार्यक्रम आयोजना गरिएको आयोजकका तर्फबाट मिस प्लानेट नेपाल अलिसा अधिकारीले जानकारी दिइन् । कार्यक्रममा झापाको मेचीनगर, बिर्तामोड, दमक सुरुङ्गाका ४५ जना मोडलले फेसन शो गर्नेछन् ।

नीलम गुरुङको कोरियोग्राफीमा हुने फेसन शोमा उनीहरूले सिजनल फेसन शो गर्ने छन् । फेसन शो प्रतियोगितात्मक नहुने तर सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा म्युजिकल नाइट, बेली डान्स, छमछमी सिजन १ की विजेता अनुजा अग्रवालको आर एस डान्स जुम बिर्तामोडले नृत्य प्रस्तुत गर्ने अधिकारीको भनाइ छ । कार्यक्रममा अग्रवाल तृष्णा गुरुङको पनि सहभागिता रहने बताइएको छ ।

करिब ६ सय देखि ७ सय सम्म दर्शकले कार्यक्रम हेर्ने अपेक्षा आयोजकले गरेको बताइएको छ । कार्यक्रम सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य उषा गुरुङले गर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा अधिकारीसहित कोरियोग्राफर नीलम गुरुङ, रोजन तिवारी, युवराज गौतमलगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।