इटहरीः अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन ८ सय ४ जना सवारी चालक कारवाहीमा परेका छन् । मङ्गलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्ममा ती सवारी चालक कारवाहीमा परेको ट्राफिकले जनाएको छ ।

यस अघि दिनहुँ ६ सय ५० देखि ७ सय ५० जना सवारी चालक कारवाहीमा पर्ने गरेकोमा नयाँ वर्षको दिन सो सङ्ख्या ८ सय कटेको हो ।

१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५० जना, मोटरसाइकलमा ३ जना चढेर यात्रा गर्ने १३ जना, बिना हेल्मेट मोटरसाइकल चलाउने ८ जना कारवाहीमा परेका छन् ।

त्यस्तै, क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने ९२ जना, सवारी चालक अनुमति पत्र नभएका ४६ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिने ३० जना, जथाभावी पार्किङ गर्ने ३२ जना कारवाहीमा परेका छन् ।

निषेधित क्षेत्रमा सवारी साधन रोक्ने ६१ जना, पार्किङ निषेधमा सवारी पार्किङ गर्ने १२ जना, सुरक्षा पेटी नबाँध्ने १४ जना र कागजपत्र साथमा नराख्ने १ सय ८६ जना कारवाहीमा परेको प्रसाईंले बताए । ट्राफिक इशारा उल्लङ्घन गर्ने ८ जना, सवारी साधनको बत्तीको अवस्था ठीक नभएको सवारी चलाउने ३६ जना, तीव्र गतिमा सवारी चलाउने ११ जना पनि कारवाहीमा परेका छन् ।

हर्न निषेधमा हर्न बजाउने ६ जना, ढोका खुला राखी सवारी चलाउने ३० जना, बढी मालसामान ढुवानी गर्ने ३३ जना र लापरवाहीका साथ सवारी चलाउने १ सय ४२ जनालाई कारवाही गरिएको बताइएको छ ।