काठमाडौंः  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो सुन तस्करीको प्रस्थानबिन्दुमै पुगेर अनुसन्धान गर्न लागेको छ । सिआइबीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएर अनुसन्धान गर्न लागेको हो । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले सुन तस्करी अनुसन्धानमा सघाउने उद्देश्यले सिआइबीले एसएसपी आचार्यलाई हङकङ पठाउने निर्णय भएको बताए । उनले भने, ‘सिआइबीले सुन तस्करी अनुसन्धान गरिरहेको छ । यस क्रममा थप सूचना संकलन गर्नुपर्ने भयो । यही सिलसिलामा एसएसपीलाई हङकङ पठाउने निर्णय भएको छ ।’

६० किलो सुन तस्करीको बिगिनिङ प्वाइन्ट (सुरुवाती बिन्दु) हङकङ हो । तर, हङकङ प्रशासनले अपेक्षाकृत सहयोग नगरेपछि समन्वय गर्न सिआइबीले एसएसपी आचार्यलाई मंगलबार राति पठाएको छ । 

गत २ साउनमा हङकङबाट जहाज हुँदै आएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट निस्किने क्रममा बरामद भएको थियो । सुन राजस्व अनुसन्धान विभागले बरामद गरे पनि अहिले घटनाको अनुसन्धान सिआइबीले गरिरहेको छ । 

६० किलो सुन तस्करी अनुसन्धान हङकङ प्रशासनको सूचनाविना पूर्ण हुँदैन । आवश्यक सूचना दिन सिआइबीले इन्टरपोलमार्फत हङकङ प्रहरी र त्यहाँको प्रशासनलाई आग्रह गर्दै आएको छ । तर, त्यहाँको प्रशासनले घटना अनुसन्धानमा अपेक्षित सहयोग गरेको छैन । सोही गाँठो फुकाउने र सूचना संकलनमा सहजीकरणका लागि आग्रह गर्न एसएसपी आचार्यलाई हङकङ पठाउन लागिएको हो ।

त्यसअघि राजस्व अनुसन्धान विभाग र भन्सार विभागले पनि सुन तस्करीमा संलग्न अभियुक्तको विवरण उपलब्ध गराउन हङकङ सरकारलाई अनुरोध गरेको थियो । तर, हङकङ प्रशासनले उनीहरूको प्रस्तावलाई पनि अस्वीकार गरेको थियो । हङकङमा सुन खरिदरबिक्री र आयातरनिर्यातमा नेपालमा जस्तो कानुनी सीमितता छैन । तस्करी भएर नेपाल आएको ६० किलो सुन तस्करले हङकङको कानुनी दायराभित्रै रहेर खरिद गरेका थिए । त्यसबापत भुक्तानी गर्नुपर्ने कर पनि हङकङ सरकारलाई उनीहरूले बुझाएका थिए । 

सुन तस्करीमा संलग्न अभियुक्त नेपालका लागि मात्रै तस्कर हो । हङकङका लागि ग्राहक हो । त्यसो हुँदा उसलाई आफ्नो ग्राहकको गोपनीयता भंग गर्ने कानुनी बाध्यता छैन । किनकि नेपाल सरकार र चीन सरकारबीच हालसम्म एमएलए (मिच्युअल लिगल असिस्टेन्ट) ट्रिटी पनि छैन । सोही कारण यसले सुन तस्करीमा संलग्न अभियुक्तको विवरण दिन अस्वीकार गर्दै आएको छ । 

सिआइबी स्रोतले भन्यो, ‘सुन तस्करीको ‘बिगिनिङ पोइन्ट’ हङकङ देखिन्छ । यसका लागि हङकङ प्रशासनको सहयोग सिआइबीलाई चाहिन्छ । हामीले इन्टरपोलमार्फत हङकङ प्रहरीलाई अनुरोध ग¥यौँ । तर, अपेक्षित सहयोग भएन । त्यसो हुँदा एसएसपीलाई पठाउने निर्णय भएको छ । त्यसपछि सूचना संकलनमा केही सहजता होला ।’

६० किलो सुन र साढे नौ किलो सुन तस्कर आपसमा अन्तरसम्बन्धित 

सिआइबीले गत २२ साउनदेखि ६० किलो सुन तस्करी अनुसन्धान अघि बढाइरहेको छ । यसक्रममा सिआइबीले तस्करमा संलग्न टियान मी, वेन टोङ, डियाङ से फा, ली नेङकाई, याओ पुचेङ र ली वेन सुङलाई पक्राउ गरेको छ । जसमध्ये याओ यसअघि सुन तस्करीकै अभियोगमा भारतमा पक्राउ परेका र सजाय भुक्तानपछि कारागारमुक्त भएका अभियुक्त हुन् । उनको सम्बन्ध इ–सिगरेट (विद्युतीय चुरोट)मा लुकाई साढे नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक ली हानसोङसँग पनि रहेको देखिएको छ । 

गत १० पुसमा फ्लाई दुबईको जहाज हुँदै अन्तर्राष्ट्रिय विमानस्थल झरेका चिनियाँ नागरिक लीलाई इ–सिगरेट (विद्युतीय चुरोट)सहित प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानपछि इ–सिगरेटभित्र सुन रहेको खुल्यो । पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल मुछिएको सोही घटनामा हो ।

घटना सम्बन्धमा सिआइबीका उच्च अधिकारीले भने, ‘इ–सिगरेटमा लुकाएर सुन तस्करी गर्ने गिरोह र ६० किलो सुन तस्करीमा संलग्न गिरोहबीच ‘कनेक्सन’ रहेको देखिन्छ । यसका पछि केही ठोस ‘इभिडेन्स’ प्राप्त भएको छ । यसमा अझै पनि प्राविधिक पक्षको अनुसन्धान भइरहेको छ । त्यसो हुँदा सुन तस्करीको दुवै घटना एउटै गिरोहले गरेको हुन सक्ने हाम्रो अनुमान छ ।’

घटनामा संलग्न रहेको अभियोगमा तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ पनि पक्राउ परेका छन् । घटनामा हालसम्म २३ अभियुक्त पक्राउ परिसकेका छन् । जसमध्ये २२ प्रहरी हिरासतमा छन् । एकजना हाजिर जमानीमा छुटेका छन् । 

दावा छिरिङको नागरिकता छानबिन गर्न गृहले बनायो समिति

६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङको नागरिकता छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहले उनको नागरिकता छानबिन गर्न उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा समिति गठन गरेको छ । ६० केजी सुन अनुसन्धानका क्रममा पक्राउ परेका उनको साथबाट नेपाली नागरिकता फेला परेका थियो । उनले उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २० पुस ०७४ मा निकालेका थिए । उनको ठमेलमा भियाना नामको होटेल छ । उनलाई राजस्व अनुसन्धान विभागबाट खटिएका टोलीले सोही होटेलबाट पक्राउ गरेको थियो । उनले नेपाली नागरिकसँग विवाह गरेका छन् । 

विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि कार्यदल गठन 

बारम्बार सुरक्षा त्रुटि भएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सुधारका लागि पहल अघि बढाएको छ । सुरक्षा सुदृढीकरणका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । सोमबार पहिलो बैठक बसेर कार्यदलले काम सुरु गरेको छ । प्रतिवेदन बुझाउन कार्यदललाई १५ दिनको समय दिइएको छ । 

कार्यदलमा अर्थ, गृह, रक्षा र पर्यटन मन्त्रालयका सहसचिवहरू सदस्य छन् । त्यस्तै, नागरिक उड्डयन प्राधिकरण, अध्यागमन विभाग र भन्सार विभागका महानिर्देशकहरू तथा नेपाल प्रहरीका डिआइजी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक पनि सदस्य छन् । 

ठूलो मात्रामा सुन तस्करी भएपछि पछिल्लो समय विमानस्थलको सुरक्षा प्रणालीमा प्रश्न उठेको थियो । गत ३१ साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विमानस्थलको सुरक्षा सुधारका लागि उच्चस्तरीय बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्रीले कार्यदल गठन गरिने र त्यसको प्रतिवेदनका आधारमा विमानस्थलको सुरक्षा प्रबन्धहरूमा हेरफेर गर्ने जानकारी दिएका थिए ।

विमानस्थलमा सरकारी निकायबीच नै राम्रो समन्वय नहुँदा पटक–पटक त्रुटि हुँदै आएको छ । विगतदेखि नै भन्सारको जाँचपासमा प्रहरीलाई सहभागी गराउन माग हुँदै आएको छ । तर, अर्थ मन्त्रालयको असहमतिले रोकिने गरेको छ । पछिल्लो समय गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सारमा प्रहरीको प्रतिनिधित्व गराउन मन्त्रिपरिषद्मा प्रस्ताव राखेका छन् । कार्यदलको प्रतिवेदनका अधारमा यस विषयमा निर्णय हुने सम्भावना रहेको स्रोत बताउँछ । विमानस्थलमा केही निकायको जिम्मेवारी थपघट गर्ने तयारी भइरहेको छ । यो खबर आजको नयाँ पत्रिकामा प्रकाशित भएको छ ।