इनरुवाः केही समय अगाडि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा विवाद उत्कर्षमा पुग्यो । अहिले सो विवाद सामान्य अवस्थामा छ । क्याम्पसले २०३४ सालमा १७ कठ्ठा १८ धुर जग्गा किनेको थियो । सो जग्गााके मोही नामसारी गरीपाउँ भनेर जिल्ला भूमिसुधार कार्यालय इनरुवामा मुद्दा परेकोमा अहिले कानुनी प्रक्रिया शुरु भएको छ ।

क्याम्पसको जग्गामा मोही नामसारी गरिपाउँ भनी परेको मुद्दामा जिल्ला भूमिसुधार कार्यालय इनरुवाले महेन्द्र क्याम्पसलाई १५ दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन म्याद जारी गरेको छ । भूमिसुधार कार्यालय इनरुवाका अनुसार धरान उपमहानगरपालिका ९ क कित्ता नम्बर २६६ को १७ कठ्ठा १८ धुर जग्गामा मोही नामसारी गरिपाउँ भनेर परेको मुद्दामा क्याम्पसको नाममा १५ दिने म्याद जारी भएको हो ।

जिल्ला भूमिसुधार कार्यालय सुनसरीले उपलब्ध गराएको सूचना अनुसार २०७५ पुस १५ गते क्याम्पसलाई म्याद तामेल (सूचना) गरेको हो । ‘यो म्याद बुझेको मितिले बाटोको म्याद बाहेकको १५ दिनभित्र आफूसँग भएको सबुत प्रमाण लिई प्रतिउत्तरसहित यस कार्यालयमा आउनुहोला’, म्याद तामेलमा भनिएको छ, ‘अन्यथा प्रचलित कानुनअनुसार कारवाही भइ जानेछ । पछि तपाईंको उजुर लाग्ने छैन ।’

श्यामगोविन्द श्रेष्ठबाट क्याम्पसले खरिद गरेको सो जग्गाको मोही नामसारी गरिपाउँ भनी २०७५ मङ्सिर १० गते यज्ञबहादुर क्षेत्रीले भूमिसुधार कार्यालयमा मुद्दा दर्ता गरेका थिए । डम्बरबहादुर घिमिरे मोही भएको जग्गा क्याम्पसले खरिद गरेको ४ दशकपछि मोही घिमिरेका माइला छोरा यज्ञबहादुर क्षेत्रीले जिल्ला भूमिसुधार कार्यालय सुनसरीमा मुद्दा दायर गरेपछि धरानमा आन्दोलनसमेत भएको थियो ।

सो जग्गामा वास्तविक मोही डम्बरबहादुर घिमिरेको २०५६ फागुन ५ मा र आमाको २०६४ पुस १४ मा मृत्यु भएपछि उनका माइला छोरा यज्ञबहादुर क्षेत्रीका वारेस इनरुवा नगरपलिका–३ का पर्शुराम गौतमले मुद्दा लड्दै आएका छन् ।

नामसारीको मुद्दा परेपछि क्याम्पस प्रशासन अकमक्क परेको थियो । तत्कालीन समयमा खरिद गर्दा नै मोहीको नाम पनि उल्लेख भएको पाइएपछि अहिले करोडौं रकमको सो जग्गा आफ्नो बनाउने दाउमा मोही भनिएका तथा अन्य व्यक्ति लागिएको बताइन्छ ।

२०३४ सालमा श्यामगोविन्द श्रेष्ठले महेन्द्र बहुमुखी क्याम्पसलाई स्वस्तिक चोक छेउको जग्गा बेचेका थिए । तत्कालीन अवस्थामा श्रेष्ठले क्याम्पसलाई जग्गा बेच्दा नै डम्बरबहादुर घिमिरेको मोही भएको देखिए पनि मौखिक रूपमा डम्बर घिमिरेले मोही हक त्यागेको क्याम्पस प्रशासनले दाबी गर्दै आएको छ ।

लिखित रूपमा जग्गामा मोहीको नाम नकाटेकाले ४१ वर्षपछि एकाएक डम्बरका छोरा यज्ञबहादुर क्षेत्रीले कानुनी रूपमै मोहीको दाबी गरेका हुन् । ४ दशकसम्म कसैले पनि खोजी एवं दाबी नगरेको साबिक धरान ९ क को कित्ता नं २६६ को सो जग्गामा मोही डम्बरबहादुर घिमिरेको नाम उल्लेख छ ।

मोही हक दाबी गरेका यज्ञबहादुरले आफूहरू तिनै जनाले संयुक्त रूपमा खनजोत गर्दै आएको भनी भूमिसुधार कार्यालय सुनसरीमा दर्ता गराएको फिराद (निवेदन)मा दाबी गरेका छन् । क्याम्पसले भने आफूले जग्गा किन्नेबित्तिकै छात्रावास बनाएको दाबी गर्दै आएको छ ।

‘क्याम्पसको अभिलेख अनुसार जग्गा किन्नेबित्तिकै छात्रावास बनाएको देखिन्छ’, क्याम्पस प्रमुख चन्द्रकुमार राईले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्नेमा हुँदै नभएको विषय उल्लेख गरेर जग्गा हडप्न खोजेको मात्र हो ।’