धनकुटाः धनकुटा जिल्लाबाट गत आर्थिक वर्षमा २ अर्ब ९३ करोड ३६ लाख ८४ हजार रुपैयाँको तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी भएको छ ।
सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती हुने धनकुटाबाट गत आर्थिक वर्षमा गोलभेँडा, बन्दा, काउली, अदुवा, अकबरे खुर्सानी र भेडे खुर्सानी निकासी भएको थियो । यस्तै धनकुटाबाट गत वर्ष सुन्तला, किवी, अलैँची, एभोकाडो, काँक्रा र आँप लगायतका फलफूल र नगदेबाली जिल्लाबाहिर निकासी भएको छ ।
बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटाबाट सबैभन्दा बढी १ अर्ब २८ करोड रुपैयाँमा ३२ हजार मेट्रिकटन गोलभेँडा निकासी भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यस्तै बन्दा ६१ करोड ७० लाखको २४ हजार ६ सय ८० मेट्रिकटन र ४३ करोड ९२ लाखको ७ हजार ३ सय २० मेट्रिकटन काउली, १७ करोड ७५ लाखको ४ हजार १ सय ५२ मेट्रिकटन अदुवा, ७ सय ८४ मेट्रिकटन अकबरे खुर्सानी ११ करोड ७६ लाखमा र ९५ दशमलव २ मेट्रिकटन भेडे खुर्सानी १ करोड १४ लाख २४ हजारमा निकासी भएको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिए ।
नगदे तथा फलफूल बाली तर्फ २ हजार ८ सय १५ मेट्रिकटन सुन्तला १६ करोड ८९ लाखमा, ४० मेट्रिकटन किवी ३ करोड ८० लाखमा, ३६ मेट्रिकटन अलैँची ३ करोड ६० लाखमा, २ सय ७४ मेट्रिकटन एभोकाडो २ करोड ३३ लाखमा, ७ सय ६० मेट्रिकटन काक्रा १ करोड ९० लाखमा र १ सय ६० मेट्रिकटन आँप ५७ लाख ६० हजारमा निकासी भएको कृषि ज्ञान केन्द्रका प्रमुख रानाले बताए ।
बजारको समस्या नभएको र कृषकलाई आधुनिक उपकरणको सहयोग स्थानीय तह र कृषि ज्ञान केन्द्रले गरेका कारण कृषकलाई सहज भएको छथर जोरपाटीका किसान इन्द्र सारु मगरले बताए । जिल्लामा उत्पादित तरकारी सुनसरी, मोरङ, झापाका विभिन्न बजार हुँदै भारतसम्म निकासी हुने गरेको छ ।-रेडियो नेपालबाट