इटहरीः माओवादी केन्द्रले शनिवार(भोली) देशभर एकै साथ उद्घाटन गर्ने ३ महिने जनतासँग माओवादी रुपान्तरण अभियान २०८० को इटहरी उपमहानगरपालिकाको २० वटै वडामा सबै तयारी पूरा गरेको छ ।
अभियानको इटहरी उपमहानगरपालिका भरी संयोजन गर्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य सुरेश कुमार (हिमाल)राईको उपस्थितीमा इटहरी उपमहानगरपालिकाका २० वटै वडाहरुमा भब्य र सभ्य रुपमा अभियानको उद्घाटन कार्यक्रम सम्पन्न गर्न तयारी बैंठक सकिएको माओवादी केन्द्र इटहरी उपमहानगरका अध्यक्ष ज्वाला तामाङ्गले जानकारी दिए ।
तामाङ्गका अनुसार भोली(शनिवार) इटहरी उपमहानगरपालिका भरी अभियानको उद्घाटनका लागि २० वटै वडाका वडा कमिटीका अध्यक्ष लगायतका जिम्मेवार पदाधिकारीहरु, कार्यकर्ता र आम सर्वसाधारण जनताहरु उत्साहित भएका छन् ।
अभियानको उद्घाटनकै दिन शनिवार पार्टीको वडा नम्बर ४ ले बुढीगंगा प्राविमा बिहान ८ बजेबाट निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने उनले बताए । सो शिविरमा विराटनरका बिभिन्न सुविधासम्पन्न अस्पतालबाट डाक्टर र प्राविधिक कर्मचारीहरु परिक्षण सामाग्री सहित उपस्थित हुँदैछन् ।
इटहरीकै ६ वडा नम्बर इटहरीको आयोजनामा धरान लाइनको प्रभु बैंक मुनी निःशुल्क सुगर परिक्षण शिविर राखेको माओवादी केन्द्र इटहरीका उपाध्यक्ष ज्ञान किरातीले जानकारी दिए ।
वडा नम्बर ७ को वडा कमिटीले आफ्नो वडामा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरको आयोजना गरेको सो वडाका अभियान संयोजक जंगराज गिरीले जानकारी दिए ।
इटहरी वडा नम्बर १०मा सरसफाई अभियानसँगै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको अभियानका इटहरी संयोजक पार्टीका केन्द्रिय सदस्य सुरेश कुमार राई(हिमाल)ले जानकारी दिए । उपमहानगरभरीको संयोजकले पनि एउटा वडाको संयोजन गर्नु पर्ने पार्टीको निर्देशनका कारण राईले १० नम्बर वडाको संयोजक गरेका हुन् ।
इटहरीका बाँकी वडाहरुमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । इटहरीको वडा नम्बर ९ र १७ मा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले भोली सम्बोधन गर्ने उद्घाटनलाई हेर्नका लागि प्रोजेक्टरको व्यवस्था गरेको इटहरी नगरअध्यक्ष तामाङ्गले बताए । प्रोजेक्टरबाट आम वडाबासीहरुले हेर्ने गरी लाइभ गरिने छ ।
बाँकी सबै वडाहरु जिम्मेवार नेता तथा कार्यकर्ताहरुले एकै स्थानमा टेलिभिजनमा अभियान उद्घाटन समारोहमा प्रचण्डले गरेको सम्बोधन हेर्ने र आ आफ्नो फेसबुक पेंजबाट लाइभ गर्ने कार्यक्रम पनि तय भएको अभियानकी इटहरी उपमहानगर सञ्चार संयोजक एवं पार्टीको नगर सहसचिव शुसिला उप्रेतीले जानकारी दिएकी छन् ।