इलामः १६ औं अनसन बस्न इलाममा पुगेका छन् चिकित्सक गाेविन्द केसी । मंगलवार साँझ इलाम आइपुगेका केसीले सरकारले आफुसँग भएकाे सम्झाैता पुरा नगरेकाे भन्दै सिंगाे सरकारकाे ध्यानाकर्षण गराउने उनका सहयाेगी डा. अभिषेक सिंहले जानकारी दिएका छन् ।

२० गते देखि नै इलाममा नगरपालिकाले लगानी सम्मेलनकाे अायाेजना पनि गर्दैछ । पहिलाे स्थानिय सरकारले गर्न लागेकाे लगानी सम्मेलनमा भाग लिने संघीय सरकारका प्रमुख प्रधानमन्त्री केपी अाेली आउँदैछन् । प्रधानमन्त्री आउने कार्यक्रमलार्इ प्रभावपार्ने गरी केसीकाे अनसन हुने धेरैले बुझाइ छ । तर, उनले भने सरकारकाे ध्यानाकर्षण गराउने बताउँदै अाएका छन् ।

चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता नभएकाे अवस्थामा केसीले पुस २ गते अन्तिम अल्टिमेटम दिएका थिए । उक्त समयसीमामा पनि विधेयक दर्ता नभए पनि काेसी अान्दाेलित भएका हुन् । विभिन्न ठाउँमा पुगेर अनसन बस्ने केसीले याे पटक प्रदेश १ काे इलामम राेजेका हुन् ।

केसीले १६ औं अनसनका लागि सरकारसँग ३ बुँदे माग राखेका छन् । पहिलो बुँदामा उनले १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् । उनले संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न माग गरेका छन्।

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गरेका छन्। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि उनले माग गरेका छन् ।

उनले निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् ।

तेस्रो बुँदामा केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।