धनकुटाः नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले १७ करोड ९१ लाख ७२ हजार ४ सय ४७ रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ ।
विद्युत् महसुल रहेकोमा औद्योगिक तर्फ १४ करोड ४९ लाख ९३ हजार ९ रुपैयाँ, सरकारी कार्यालयको १ करोड ३८ लाख १४ हजार ८१ रुपैयाँ, घरेलु प्रायोजनको १ करोड २८ लाख २९ हजार ९ सय ९१ रुपैयाँ, खानेपानी पम्पीङको ६८ लाख १९ हजार २ सय ८७ रुपैयाँ र आन्तरिक उपभोगको ४० लाख ५९ हजार ५ सय ४५ रुपैयाँ रहेको विद्युत् प्राधिकरण धनकुटाले जनाएको छ ।
यस्तै व्यावसायिक तर्फको २५ लाख १३ हजार ९ सय ५५ रुपैयाँ, मनोरञ्जन तर्फको ५६ हजार ८ सय १५ रुपैयाँ, गैर घरेलुको २७ हजार ३ सय ५० रुपैयाँ, धार्मिक तथा सांस्कृतिकको १३ हजार ३ सय ८८ रुपैयाँ र अस्थायी आपूर्तिको ४ हजार ६ सय ३ रुपैयाँ रहेको विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख प्रह्लाद पोख्रेलले जानकारी दिए ।
धनकुटास्थित निगाले सिमेन्ट उद्योग प्रालिको मात्रै १५ करोड ७७ लाख २ हजार ५ सय २९ रुपैयाँ रहेको छ । यस्तै धनकुटामा रहेका सरकारी कार्यालयमा गोकुण्डेश्वर बालमन्दिर माविको ६१ हजार १ सय, जिविस भजन भेडेटारको ४० हजार २ सय ७२, जिविस क्वाटरको ३२ हजार २ सय ६७, यातायात व्यवस्था सेवा कार्यालय धनकुटाको ३० हजार ४ सय ८७, पुलिस स्टेशन मुढेबासको २४ हजार ९४ र शिक्षा विकास निर्देशनालयको २१ हजार ३ सय ६२ रहेको छ । यस्तै इलाका हुलाक कार्यालय धनकुटाको २० हजार ६, प्रमुख जिल्ला अधिकारीको क्वाटरको १८ हजार १ सय ७५, आँखिसल्ला स्वास्थ्य चौकीको १८ हजार १४, प्रहरी चौकी छ नं। बुधवारको १६ हजार ६ सय ३४, जिविस भ्यूटावर भेडेटारको १५ हजार ५१, जाल्पादेखि प्राविको १४ हजार ८५ र सिद्ध ठाकुर आधारभूत विद्यालयको १२ हजार ८ रुपैयाँ बक्यौता रहेको प्रमुख पोख्रेलले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले गत आर्थिक वर्षमा ३४ लाख ४३ हजार २ सय ६१ रुपैयाँ बक्यौता रकम रहेका २ सय ७ जनालाई कालो सूचिमा राखी लाइन काटेकोमा २ सय ४ जनाले जरिवाना सहित ५६ लाख ७२ हजार ३ सय ४० रकम तिरेपछि कालोसूचीबाट हटाइएको प्राधिकरणका कर्मचारी हेमचन्द्र थापाले जानकारी दिए। उद्योगसहित विद्युत् बक्यौता नतिर्नेलाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको प्राधिकरणले जनाएको छ । निगाले सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भने भइरहेको छ । रेडियो नेपालबाट