झापाः माइती नेपाल काँकडभिट्टाले १ वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ ।
काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो । सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २ सय ५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए ।
त्यस्तै संस्थाले ९१ जनालाई सीमानाकाबाट सोधपुछ गरी नेपाल फर्काएको थियो । बस, रिक्सा, टेम्पोलगायत सवारीसाधनका १६ हजार १ सय १३ चालकलाई मानव बेचबिखनसम्बन्धी सचेतनासमेत प्रदान गरिएको घिमिरेले बताए ।
वैदेशिक रोजगार तथा अध्ययनका लागि भारत जान लागेका १ हजार ८ सय ६९ किशोरीलाई सुरक्षित बसाइँसराइँबारे अवगत गराइएको तथा किशोरी तथा महिला हराएको १ सय ७९ निवेदन परेकामा ५८ जना फेला परेको संस्थाले जनाएको छ । प्रहरी प्रशासनसँगको समन्वयमा मानव बेचबिखनका ३ तथा जबर्जस्ती करणीका ५ मुद्दा दर्ता गरिएको पनि घिमिरेले जानकारी दिए ।