झापाः जीवनयापनका क्रममा भएको आर्थिक संकट व्यवस्थापन गर्न नसक्दा झापाको शिवसताक्षीका एक दम्पतीले सामूहिक मृत्युको बाटो रोजेका छन् ।
शिवसताक्षी नगरपालिका–११ दूधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी श्रीमती ५२ वर्षीया कमला भट्टराईले मृत्युको बाटो रोजेका हुन् ।
बढ्दो आर्थिक सङ्कटका कारण उनीहरूले भदौ १९ गते राति विष सेवन गरेका थिए । भदौ २० गते कमलाको मृत्यु भएको थियो भने २२ गते तेजप्रसादको मृत्यु भएको हो । दुवैको एउटै चिता बनाएर शनिबार दाहसंस्कार गरिएको छ ।
स्थानीयका अनुसार कमला क्यान्सर पीडित थिइन् । उपचारका लागि खर्च जुटाउन भट्टराई दम्पतीले छोरा खगेन्द्रलाई विदेश पठाएका थिए । तर, छोराले पठाएको खर्चले पनि उपचार गर्न सक्ने अवस्था भएन ।
तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । भट्टराईले आर्थिक अभावका कारण खुट्टामा लगाएको स्टिल पनि निकाल्न सकेका थिएनन् ।