खोटाङः खोटाङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकामा बिजुली र सञ्चारको विकास हुन सकेको छैन । स्थानीय तह गठन भएको डेढ वर्षको अवधिमा गाउँपालिकाले प्रत्येक वडा कार्यालयसम्म पुग्ने मोटरबाटो बनाइसकेको छ । सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरे पनि अधिकांश ठाउँमा विद्युत् र टेलिफोनको सुविधा भने छैन ।

गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर राईले आगामी ३ महिनाभित्रमा गाउँपालिका कार्यालय रहेको स्थान चिसापानीमा केन्द्रीय प्रशारणको बिजुली बालिसक्ने बताएका छन् । गाउँपालिका उपाध्यक्ष विमला राईले विकासको हरेक गतिविधिलाई यिनै विद्युत् र सञ्चारले अवरोध गरेको बताइन् ।

प्रत्येक वडामा टेलिफोन सञ्चालन गर्ने गरी रिपिटर टावर राख्न नेपाल टेलिकमसमक्ष माग गरिएको जनाइएको छ । यस क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण टेलिफोन, मोबाइल सोलारको भरमा सञ्चालन हुने गरेको छ ।