इनरुवाः इनरुवा नगरपालिका कार्यालयको कृषि शाखाबाट नगरका किसानलाई निःशुल्क रुपमा अनुदानमा पशुपन्छी र धानको बिउबिजन कागज र बिल भपाईमा मात्रै वितरण गरिएको फेला परेको छ ।
इनरुवाका मेयर केदार भण्डारीलाई महालेखा परिक्षकको कार्यालयले २०७९ चैत २९ गते तयार पारेको प्रतिवेदनसहित २०८० बैशाखमा पठाएको पत्रमा कृषितर्फ किसानहरुलाई वितरण गरेको ३० लाख १४ हजार २ सय ३० रुपैयाँको बाख्रापाठा, बंगुर, हाँस, कुखुराका चल्ला र धानको बिउ कागजमा मात्रै सिमित रहेको उल्लेख गरिएको छ ।
महालेखाले चलानी नम्बर ६६ मार्फत पठाएको प्रतिवेदनमा भनिएको छ, ‘ नगरपालिकाले किसानहरुलाई ४ लाख ७५ हजार ४ सय ४० रुपैया मुल्यको प्रतिगोटा ५१ सयको १२ वटा बाख्राको पाठा, प्रतिगोटा ४८ सयको ३२ वटा बंगुरको पाठा, प्रतिगोटा १ सय २० रुपैयाँको ३ सय वटा हाँसको चल्ला खरिद गरि वितरण गरेको कागजमा बिल भर्पाइ रहेपनि बुझिलिने किसानको नाम ठेगाना र विवरण नरहेको उल्लेख छ ।
यसैगरि नगरपालिकाले प्रतिगोटा ७० रुपैयाँको ४ सय ३२ वटा कुखुराको चल्ला, प्रतिगोटा ६ हजार रुपैयाँको १२ वटा बाख्रा, प्रतिगोटा ६ हजारको १७ वटा बंगुर निशुल्क वितरण गरिएको कागजमा उल्लेख भएपनि लाभग्राही किसान फेला नपरेकाले उक्त खर्च अनियमित देखिएको महालेखाले उल्लेख गरेको छ ।
नगरपालिकाले पशुपन्छी निःशुल्क दिएका किसानले पालेका बाख्रापाठा, बंगुर, हाँस, कुखुराका चल्ला अनुगमनका क्रममा फेला नपर्नुका साथै किसानहरुको जीवनस्तर र आयआर्जनमा परेको प्रभावसमेत नदेखिएकाले कृषि कार्यक्रम अनियमित भएको ठहर महालेखाले गरेको छ ।
यसैगरि नगरपालिकालाई बुझाएको प्रतिवेदनमा व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्र्तगत जिटुजी खरिद बिधीमा कृषि सामग्री कम्पनी लिमिटेड इटहरीबाट २५ लाख ४० हजार ७ सय ९० रुपैयाँ धानको बिउ खरिद गरेकाले किसानलाई निःशुल्क वितरण गरेको भर्पाइसहितको विवरण नभएको उल्लेख गरिएको छ ।
नगरपालिकाले राधा १२ प्रतिकिलो ५० रुपैयाँका दरले २९ हजार ९ सय ९५ रुपैयाँ किलो, सुर्बण १ प्रतिकिलो ५२ रुपैयाँका दरले २० हजार २० किलो खरिद गरि रकम भुक्तानी दिएको देखिएपनि किसानलाई दिएको कुनै प्रमाण फेला नपरेको जनाइएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘लाभग्राहीले धानको बिउ बुझेको भर्पाइ र किसानले सिजनमा बिउ पाएको हो भन्ने कुनैपनि प्रमाणका साथै अनुगमनका क्रममा किसानले धानको बिउ लिएको तथ्य प्रमाणसमेत फेला नपरेकाले कृषि कार्यक्रममा अनियमिता भएको ठहर गरेको उल्लेख छ ।