दमकः झापालाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील पत्रकार सन्तोष विष्टमाथि कार्यालय अगाडि हातपात भएको छ । गौरादह १ का मन्जिस थापाले नियोजित रुपमा उनिमाथि हातपात गरेकोले पक्राउ गरी कारवाही गर्न नेपाल प्रेस युनियनले माग गरेको छ ।
युनियन झापा जिल्ला समिति र माइपश्चीम क्षेत्रीय समितिले सोमबार विज्ञप्ती निकालेर अनलाइनल पत्रिका सजल सन्देश डटकम मार्फत पत्रकारितामा क्रियाशील विष्टमाथि गौरादहमा थापाले गत २० भाद्रमा पहिलो पटक र २४ भाद्रमा दोश्रोपटक सुनियोजित रुपमा आक्रमण प्रयास गरेको भन्दै दोषीमाथि कानुनी कारवाहीको माग गरेको हो ।
विज्ञप्तीमा पछिल्लो समय समाचारका स्थानीय बिषयहरुको उठान गर्दै विकृति, विसंगती विरुद्ध सशक्त आवाज उठाउँदै आएका विष्टमाथि भएको हातपात र आक्रमणको घटना सुनियोजित भएको युनियनको ठहर छ ।
२० भाद्रको राती समयमा कृष्णाष्टमी पर्वमा आयोजित कार्यक्रमस्थलमा रहेका विष्ट गौरादहमै भएको अर्को एउटा घटनाका बारेमा फोन मार्फत आएको जानकारीपछि घटनास्थल पुगेर आवश्यक सूचना लिई फर्किसकेको अवस्थामा आएर पहिलो पटक दुव्र्यवहार गरी देखाइदिन्छु भन्ने धम्की दिने थापाले नै दोश्रोपटक २४ भाद्रमा राती ९ बजे विष्ट आफनै कार्यालय अगाडी अन्य ३÷४ जनासँग कुराकानी गरि बसिरहेको अवस्थामा निहुँ खोजी हातपात गर्दै आक्रमण प्रयास गरेका थिए । विष्टसँगै रहेका अन्यले विष्टमाथि थप घटना हुनबाट रोकेका थिए ।
सजल सन्देश डटकममार्फत प्रकाशित विभिन्न समाचारका बिषयलाई लिएर विष्टलाई कतिपय मानिसहरुले फोन मार्फत धम्की दिइरहेकै समयमा भएको उक्त घटनाको पछाडी गम्भिर कारण हुन सक्ने प्रेस युनियनको अनुमान छ ।