गाईघाटः २१ वर्षअघि व्यावसायिक रूपमा माछापालन शुरु भएको उदयपुर जिल्लामा ७ वर्ष अघिदेखि भने यसको उत्पादनमा वृद्धि हुँदै गएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष उदयपुर जिल्लामा १ सय ५० क्वीण्टल माछा उत्पादन भएको छ । गत वर्ष जिल्लामा ९० क्वीण्टल माछा उत्पादन भएको थियो । त्यस्तै, २ वर्षअघि करीब ७५ क्वीन्टल माछा उत्पादन भएको थियो ।

५ वर्षअघि जिल्लामा २९ हेक्टरमा माछापालन गरिएको थियो । हाल ५५ हेक्टरमा माछापालन भइरहेको छ । ५ वर्षअघि १ सय ५० किसान माछापालनमा संलग्न भएकोमा अहिले २ सय ५२ किसान संलग्न भएको बताइन्छ ।
बिस्तारै माछा उत्पादनको क्षेत्रमा जिल्ला आत्मनिर्भर बनेको बताइएको छ । वार्षिक २ करोडसम्मको माछाको कारोबार हुने यहाँ अहिले जिल्लामा कुल मागको करीब ७० प्रतिशत माछा उत्पादन हुने गरेको छ ।