इटहरीः नेपाली काङ्ग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडाले नेपाली काङ्ग्रेस पार्टी र त्यसका भातृ सङ्गठन भट्टी पसलबाट चल्ने प्रथाको अन्त्य गर्नुपर्ने बताएकी छिन् ।  पार्टी र त्यसका भातृसंस्था क्रियाशील बन्न नसक्नुमा पहिलो कारण पार्टी परिचालनको शैली नै गलत भएको उनको भनाइ थियो ।

उनले पार्टी नेतृत्वले आफ्नो गल्ती र कमजोरी सच्याएन भने युवा नेतृत्वले हस्तक्षेप गर्ने अवस्था सिर्जना हुने बताइन् । महासमिति बैठकपछि पार्टीको विधानलगायतका विषय टुङ्गिएको तर मूलभूत पार्टी पराजयको विषयमा गम्भीर समीक्षा हुन नसकेको उनले बताइन् ।

सङ्घीय सरकारदेखि प्रदेश र धेरै स्थानीय सरकारमा नेपाली काङ्ग्रेस प्रतिपक्षी भूमिकामा रहेको अवस्थामा काङ्ग्रेसले यसलाई अवसरको रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ । ‘हरेक स्थानीय सरकार भ्रष्टाचारको अखडा बनेका छन् । महिला हिंसा बढेको बढ्यै छ,’ उनी भन्छिन्, ‘यस्ता अन्याय र अत्याचारको विरुद्धमा प्रतिपक्षीले आवज उठाउन सकेन भने काङ्ग्रेस पुनर्जागरण असम्भव छ ।’

आफूले महासमिति बैठकमा बोलेको स्मरण गर्दैै उनले सरकारको बेथितिका विरुद्धमा रगत बगाउन पनि आफूहरू तयार रहेको बताइन् । सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने खतिवडाले सुनसरी पार्टी नेतृत्व आफैँमा असक्षम रहेको आरोप लगाइन् ।

‘राजनीति भट्टी र गुण्डाबाट परिचालित भयो भने राजनीति विकृत हुन्छ,’ उनी भन्छिन्, ‘सुनसरी काङ्ग्रेस हाल त्यही अवस्थामा छ । जो व्यक्ति जुन पेशा र व्यवसायमा छ त्यसै अनुसार जिम्मेवारी दिन सक्नुपर्छ ।’
आफू बन्ने तर पार्टीको बारेमा ध्यान नदिने नेतृत्व सुनसरी काङ्ग्रेसमा रहेको उनको भनाइ छ । आगामी अधिवेशनप्रति इङ्गित गर्दैैै उनले अब नयाँ पुस्ताले सुनसरी पार्टी नेतृत्वमा हस्तक्षेप गर्ने बताइन् । अब काङ्ग्रेसलाई बलियो बनाउन युवा र विद्यार्थी नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।