झापाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको टोलीले प्रधानमन्त्रीसँग भेटी जिल्लाका गतिविधिको बारेमा जानकारी गराएको छ । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको थियो ।

सो भेटमा प्रधानमन्त्रीले कतिपय विकास निर्माणका योजना सङ्घ वा प्रदेश कसले सञ्चालन गर्ने भन्ने द्विविधाका कारण कामले गति लिन नसके पनि अब त्यसलाई समाधान गरेर अगाडि बढ्ने बताएको प्रधानमन्त्री ओलीको गृहनगर दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताए ।

सा अवसरमा तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाको प्रगतिबारेमा ओलीलाई जानकारी गराएका थिए । त्यस्तै, दमकसभा हल निर्माणाधीन अवस्थामा रहेको, पशुहाट बजार केन्द्रको निर्माण कार्य सम्पन्न भएको विषयमा पनि जानकारी गराइएको थियो ।

दमक भ्यु टावरको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भएको तथा यसका लागि ५ बिघा क्षेत्रफल जग्गा नगरपालिकाको नाममा आइसकेको प्रशासकीय अधिकृत तिम्सिनाले ओलीलाई जानकारी गराएका थिए । दमक औद्योगिक क्षेत्रको मुआब्जा वितरणको तयारी भइरहेको पनि तिम्सिनाले जानकारी गराएका थिए ।

दमक–३ मा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्तिका लागि ७ बिघा जग्गा नगरपालिकाको नाउँमा दर्ता भइसकेको, २० बिघा जग्गा प्राप्तिका लागि झापा जिल्लाबाट सिफारिश गरी पठाएको जानकारी गराएको तिम्सिनाले बताए । सो आयोजनाको डिपिआर तयार भएको र दमक नपाले जग्गा व्यवस्थापनका लागि आवश्यक समन्वय र पहल गर्न नगर प्रमुखको संयोजकत्वमा एक समिति बनाएको तिम्सिनाको भनाइ छ ।

दमक नगपालिकाले सञ्चालन गरेका नगरपालिका भवन, शहीद वनबाटिका, घण्टाघरसहितको रोज गार्डेन, विपन्नका लागि नमूना आवास गृह निर्माण, टावर निर्माण आदिका बारेमा भएको प्रगति तिम्सिनाले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

सो अवसरमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले सुरुङ्गा–झापा सडक, लक्ष्मीपुर–घेराबारी सडक निर्माणका लागि आवश्यक रकम विनियोजन गरिदिन प्रधानमन्त्रीसँग माग गरेका थिए । पोखरेलले कनकाइमा २५ श्ययाको अस्पताल निर्माण गर्न र पर्यटकीय पूर्वाधारका लागि कम्तीमा १ करोड विनियोजन गरिदिनसमेत प्रधानमन्त्रीसँग माग गरेका थिए ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले नगरको विकास निर्माणका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले झापाली जनप्रतिनिधिले राखेका मागका सम्बन्धमा आफू सकारात्मक रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिनिधिमण्डलमा नेकपाका केन्द्रीय सदस्य नरेश खरेल र देवेन्द्र दाहाल सांसद पवित्र निरौला खरेल, पूर्वसांसद दीपक कार्की, जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेकपाका नेता चिन्तन पाठक, गगन पुरीलगायत सहभागी भएको दमक नगरपालिकाका मेयर ओलीले बताए ।