झापाः सन् २०१८ मा पूर्वी नाका भएर ११ हजार १ सय ७५ नेपाली एवम् विदेशी पर्यटक पैदल मार्ग हुँदै नेपाल भित्रिएका छन् । ४ हजार ६ सय ५७ नेपाली र ६ हजार ४ सय १८ विदेशी पर्यटक काँकरभिट्टा नाका भएर नेपाल भित्रिएका हुन् । सन् २०१७ मा ११ हजार ४ सय ९७ पर्यटक नेपाल आएको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

अध्यागमन कार्यालयका अनुसार सबैभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । बङ्गलादेशबाट १ हजार ९ सय ३२ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, चीनबाट २ सय २ पर्यटकले नेपाल भ्रमण गरेका छन् । दोस्रोमा धेरै पर्यटक आउने मुलुकमा अमेरिका रहेको छ । अमेरिकाबाट ८ सय ५६ पर्यटक १ वर्षमा सो नाका हुँदै नेपाल भित्रिएका छन् ।

भुटानबाट ७ सय ६९, दक्षिण कोरियाबट ३ सय ६०, थाइल्याण्डबाट ३ सय ८, बेलायतबाट २ सय ४३, फ्रान्सबाट २ सय ३३, जर्मनबाट १ सय ७२, जापानबाट १ सय ५७, तथा क्यानडाबाट १ सय १६ पर्यटक पर्यटक सो नाका हुँदै नेपाल आएको अध्यागमन सहायक डिल्लीप्रसाद खतिवडाले बताए ।

खतिवडाका अनुसार सन् २०१८ मा पर्यटक आगमनमा कमी हुनुको मुख्य कारण भुटानी पर्यटक नै हुन् । गत वर्ष १ हजार ६ सय भुटानी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका थिए । जुन २०१७ को तुलनामा ५० प्रतिशत कम हो । भुटानबाट ७ सय ६९ पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ ।

शुरुशुरुमा नेपाल प्रवेश गर्ने पर्यटकले सोझै दूतावासबाट भिसा लिने गरेका भए पनि पछिल्लो समय सम्बन्धित कार्यालयबाटै लिने गरे पनि अपेक्षा अनुसार पर्यटकको सङ्ख्या नरहेको कार्यालयको भनाइ छ । यसरी पर्यटकको सङ्ख्यामा कमी आउनुलाई यहाँका पर्यटन व्यवसायीले दुःखद पक्ष भएको बताएका छन् ।

‘नेपालमा पर्यटकीय चहलपहल शुरु भए पनि पूर्वी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या खासै उकालो लाग्न नसक्नु यहाँका पर्यटन व्यवसायीका लागि दुःखद पक्ष हो’, ट्राभल सङ्घ झापाका अध्यक्ष निरबहादुर कार्कीले भने ।

नाटाका पूर्व महासचिव पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठका अनुसार अहिले पर्यटकका लागि नेपाल घुम्न आउने मुख्य सिजन हो । तर, पैदलमार्ग भएर काँकरभिट्टा नाका हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या कम हुनुले यहाँका ट्राभल व्यवसायीमा असर पुगेको छ । पर्यटकको सङ्ख्या कम भएपछि व्यवसायीको आर्थिक कारोबारमा समेत प्रभाव पर्ने श्रेष्ठ बताउँछन् ।

विदेशी पर्यटकले काठमाडाँै, पोखरा, लुम्बिनी, चितवन, गोर्खा, मनकामनालगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने नेपाली ट्राभल व्यवसायीको भनाइ छ । डेनमार्क, चीन, फ्रान्स, युके, दक्षिण कोरिया, स्पेन, मलेसिया, जर्मनी, इटाली, स्वीडेन, अष्टे«लिया, जापान, नेदरल्याण्ड, श्रीलङ्का, नर्वे, पाकिस्तान, सिंगापुर, थाइल्याण्ड, बेल्जियमलगायतका मुलुकबाट नेपाल घुम्न हरेक वर्ष पर्यटक आउने गर्दछन् ।

२०१६ मा १० हजार ६ सय २ जना विदेशी पर्यटक सो नाका हुँदै नेपाल प्रवेश गरेको तथ्याङ्क कार्यालयसँग सुरक्षित छ । २०१७ मा १० हजार ३ सय ६६ तथा २०१६ मा ९ हजार ८ सय ४२ पर्यटक यो नाका भएर बाहिरिएका थिए । सन् २०१८ मा भने ११ हजार ५ सय ५ जना बाहिरिएका छन् ।

कार्यालयले अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्याम्ब्रन, सोमालिया, प्यालेस्टाइन, स्वीट्जरल्याण्डलगायत ११ मुलुकका पर्यटकलाई भने नेपाल सरकारले भिसामा रोक लगाएको जनाएको छ ।