फिदिमः पाँचथरको हिलिहाङमा सिउँडी फल (ड्र्यागन फ्रुट)को व्यावसायिक उत्पादन सुरु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिकामा यसको उत्पादन सुरु भएको हो । यहाँका फणीन्द्र रिजाल र ओमनाथ रिजालले यो फल उत्पादनका लागि झन्डै एक सय रोपनी जग्गा व्यवस्थापन गरेका छन । जसमध्ये झन्डै ३५ रोपनी क्षेत्रफलमा लगाइएका बेर्नाले उत्पादन दिन थालेका हुन् ।
रोपेको १५ देखि १८ महिनामा उत्पादन सुरु हुने र एक पटक रोपेका बिरुवाले २० देखि २५ वर्ष उत्पादन दिइरहने ड्र्यागन फलका विशेषज्ञ पूर्णप्रसाद लुइटेल बताउछन । कात्तिकदेखि माघ महिनासम्म बेर्ना सार्ने सिजन हो । उत्पादन भने जेठदेखि कात्तिकसम्म हुने उनले बताए।
रिजालद्वयले धनकुटाबाट बेर्ना ल्याएर यहाँ व्यावसायिक रूपमा ड्र्यागन खेती सुरुवात गरेका हुन। अहिले ओमनाथका एक हजार र फणीन्द्रका आठ सय पिल्लरमा रोपिएका ड्र्यागनले उत्पादन दिन थालेका छन् । उत्पादन सुरु भएपछि उनीहरूका बगानमा क्रेताको भिड लाग्न थालेको छ ।
ड्र्यागनका बोटमा कोपिला लागेको ३४ दिनमा फल टिप्न तयार हुन्छ । यसका बिरुवा रोपेपछि हिउँदमा पानी लगाउने र बर्सातमा एक÷दुई पटक गोडेर मल हाल्नबाहेक अरू मेहनत गर्नु पर्दैन ।
थाङ्ग्राका रूपमा फलामका ससाना पिल्लर बनाएर टायरको बाहिरी भाग राखिन्छ । पिल्लरका टुप्पामा राखिएको टायरमा जेलिएका बिरुवामा ड्र्यागन उत्पादन हुन्छ । पाँचथरमा पहिलो पटक उत्पादन सुरु भएको यो फल स्थानीय बजारमा प्रतिकिलो पाँच सय रुपियाँका दरले बिक्री भइरहेको उत्पादक बताउँछन् ।
यहाँ उत्पादित फलको बजार सदरमुकाम फिदिम हो । चिनीरोग, रक्तचाप, मुटु, मिर्गौला र क्यान्सर भएका बिरामीले समेत खान मिल्ने भएकाले पनि यसको माग उत्पादनभन्दा धेरै रहेको किसान बताउँछन् ।
हेर्दा आकर्षक देखिने र खाउँखाउँ लाग्ने ड्र्यागन फ्रुटलाई नेपालीमा सिउँडी फल, पिताया र पितानाया भन्ने गरिएको छ । यसको वैज्ञानिक नाम ‘हिइलोसेरियस अनडाइटम’ र फ्यामिली नाम ‘क्याक्टसी’ हो । यो क्याक्टसकै एक प्रजाति भएको विज्ञकोे भनाइ छ ।
मानव शरीरलाई चाहिने सम्पूर्ण तत्व एवं धेरै खाले औषधीय गुण यसमा पाइने र असाध्यै रसिलो तथा स्वादिष्ट भएकाले यस फललाई सुपर फुड भन्ने पनि धेरै छन् ।
यसले रोग प्रतिरोगात्मक क्षमता बडाउने र शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने भएकाले शक्तिको ‘पावर हाउस’ र धेरै किसिमका औषधी तत्व पाइने भएका कारण ‘औषधीय फल’ पनि भनिन्छ ।
विशेषज्ञ लुइटेलका अनुसार विश्वमा पाइने खानयोग्य ड्र्यागन फ्रुट सामान्यतः तीन प्रकारका हुन्छन्, रातो, सेतो र पहेँलो । यी तीनै किसिमका ड्र्यागन फलको बोट, हाँगा, फूल र पाक्नुअघिको फल हेर्दा उस्तै उस्तै देखिन्छ । फल पाक्न थालेपछि आफ्नै रङमा परिणत हुन्छन् । यी तीन प्रजातिको नेपालमा सफल उत्पादन भइसकेको छ ।
घमाइलो, दक्षिण फर्केको जमिन र बलौटे माटोमा रमाउने यो फलको उत्पादन दक्षिण र मध्य अमेरिकाबाट सुरु भएको जानकारहरू बताउँछन् । यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।