इटहरी / जेसीज विशुद्ध सामाजिक सेवामूलक अन्तर्राष्ट्रिय नेटवर्क भएको सम्मानित संस्था हो । विधिको शासनमा विश्वास राख्ने जेसीजमा विधि मिचेर अध्यक्ष बनेको सुन्दा अचम्म लाग्न सक्छ । तर, इटहरी लेडी जेसीज अध्यक्ष मिनु न्यौपाने भने उमेरहद पार गरे पनि गुपचुप रूपमा अध्यक्ष बन्न भ्याएकी छिन् ।
जेसीजको विधानमा स्पष्ट रूपमा उल्लेख छ कि १८ देखि ४० वर्ष उमेर समूहभित्रका युवा यो संस्थामा आबद्ध हुन्छन् र विभिन्न सामाजिक कार्यमा सहभागी बन्छन् । यदि उक्त उमेर समूह बाहिरका व्यक्तिले जेसीजको कुुनै पनि समितिको नेतृत्व गर्नुु भनेको विधिविपरीत जानुु हो । यसो गर्नु भनेको सम्मानयोग्य संस्थाको गरिमा घटाउनु हो ।
तर सन् २०१८ की अध्यक्ष चुनिएकी न्यौपानेले आफ्नो उमेर लुकाएर अध्यक्ष भएकी हुन् । उनको उमेरको बारेमा लेडी जेसीजमा कुरा उठे पनि पूर्व अध्यक्षहरू राखेर सो कुरा साम्य बनाइएको बताइएको छ । जेसीजमा पूर्व अध्यक्षलाई सम्मानको दृष्टिले हेरिन्छ । जेसीज विधि सिकाउने संस्था भएको हुँदा उसले विधिको उच्च सम्मान गर्दै आफैंले अवलम्बन समेत गर्छ । पूर्व अध्यक्षहरूले उक्त विधिसम्मत संस्था चलेको छ या छैन भन्ने निगरानी गर्ने गरेका छन् । तर, इटहरी लेडी जेसीजको हकमा भने पूर्व अध्यक्षको भूमिका समेत जिम्मेवारपूर्वक रहन सकेको देखिँदैन ।
कति हो न्यौपानेको उमेर ?
विक्रम संवत् २०३१ सालमा जन्मेकी न्यौपानेले सुनसरी जिल्ला प्रशासनबाट नागरिकता लिएको अभिलेख छ । उनको नागरिकता नम्बर १४२५०÷१६२५० मा वि.स. २०३१ साल मंसिर ३ गते इटहरी ४ मा जन्म भएको देखिन्छ । उनले तत्कालीन कायम मुकायम प्रमुख जिल्ला अधिकारी विजयराज भट्टराईको हस्ताक्षरमा २०४९ साल असार ११ गते नागरिकता लिएकी छिन् ।
यो तथ्यले उनी इटहरी लेडी जेसीजको अध्यक्षमा विधिको शासनमा विश्वास गर्छु भनेर शपथ लिँदा ३ वर्ष उमेर हद नाघेको प्रष्ट छ । तर सत्य, निष्ठा र इमानदारपूर्वक नेतृत्व गर्छुु भन्नेले नै झुुटो बोलेर शपथ लिएको देखिन्छ ।
४० वर्ष माथिको व्यक्तिले नेतृत्व गर्न पाउँदैन: राष्ट्रिय अध्यक्ष बस्याल
नेपाल जेसीजका वर्ष २०१८ का अध्यक्ष श्रीधर बस्यालले जेसीजको एउटै नियम संसारभर लागूु हुुने भन्दै उमेर हदपार गरेको व्यक्ति अध्यक्षमा चुनिनु दुःखद रहेको बताए । उनले त्यस्तालाई के कारवाही गर्नेभन्दा पनि इमानदार संस्थाको नेतृत्व गर्नेले विधिविधान नमान्नुु भनेको जेसीजको मर्म विपरीत चल्नुु रहेको स्पष्ट पारे ।
सरकारी निकायको पैसाले एकलौटी कार्यक्रम गर्न मिल्दैन
नेपाल जेसीजका वर्तमान अध्यक्ष बस्यालले जेसीज पूर्णतया सामुदायिक संस्था भएको हुँदा यसले आन्तरिक फन्ड जम्मा गर्ने गरेको बताए । सोही फन्डबाट सामाजिक कार्यक्रममा योगदान दिँदै आएको संस्थाले अन्य संस्थासँग पनि सहकार्य गर्न सक्ने तर विशुद्ध पैसा लिएर अलग कार्यक्रम गर्न नमिल्ने जानकारी दिए । ‘हामीले सरकारी निकाय तथा अन्य एनजिओ, आइएनजिओसँग मिलेर सँगसँगै कार्यक्रम गर्न सक्छौँ’ उनले भने, ‘तर पैसा उठाएर अलग्गै कार्यक्रम गर्न विधानत मिल्दैन ।’
न्यौपानेको भनाइ
इटहरी लेडी जेसीज अध्यक्ष भने आफू विधान अनुसार नै अध्यक्ष भएको बताउँछिन् । ‘नेपाल जेसीजको सदस्य हुन १८ देखि ४० वर्ष उमेर समूहको व्यक्ति हुनुपर्छ,’ टेलिफोन सम्पर्कमा उनले भनिन्, ‘३९ वर्ष ६ महिनासम्म उमेर भएको व्यक्तिले जेसीजको सदस्य हुन पाउँछ । म पनि त्यसैभित्र पर्छु ।’ उनले आफ्नो वास्तविक उमेर बताउन नचाहे पनि आफ्नो जन्ममिति ०३१ साल नभएको बताइन् ।
नेपाल जेसीजमा निलम्बनको इतिहास
नेपाल जेसीजको हकमा समेत तत्कालीन अध्यक्ष निलम्बनमा परेको इतिहास छ । सन् २०१७ का अध्यक्ष जगत पोख्रेललाई जेसीजको मुुख्यालयले उमेर हदबन्दी पार गरेको भन्दै निलम्बन गरेको थियो । जेसीजका तत्कालीन महासचिव अर्रे ओबेन्सले विज्ञप्ति जारी गर्दै उनलाई कारवाही गरेको समाचार नेपालको नागरिक दैनिक पत्रिकाले २०७३ साल बैशाख १३ गते शुक्रबार प्रकाशित गरेको थियो ।
उनी महेन्द्रनगरमा भएको साधारणसभाबाट नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा चुनिएका थिए । जेसीज मुुख्यालयले उनलाई पुनः साधारणसभा गरी नयाँ कार्यसमिति अध्यक्ष चुुन्न पत्राचार गरेको थियो । १ महिनाको समय सीमा दिए पनि पोख्रेलले अटेर गरेर बसेका थिए । त्यसपश्चात उनलाई मुख्यालयले निर्देशन नटेरेको कारण जेसीजको अध्यक्ष पदबाट हटाएको विज्ञप्तिमार्फत् नै जानकारी गराएको थियो ।
इटहरीबाट प्रकाशित पूर्वीबजार दैनिकबाट साभार ।