झापाः राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा व्यापार घाटा हुनु राम्रो नभएको भन्दै कृषि पेशामा आधुनिकीकरणको आवश्यक रहेको बताएकी छिन् ।
कृषिप्रधान देशको ख्याति कायम राख्न र उत्पादकत्वलाई बढावा दिन कृषिमा सबल नेतृत्व आवश्यक रहेको बताउँदै अब स्थानीय सरकारले कृषि र उद्योगधन्दाको नेतृत्व लिनुपर्ने बताइन् ।
झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको चन्द्र डाँगी कृषि विकास फार्मको अवलोकन गर्दै राष्ट्रपति भण्डारीले कृषिप्रधान देशमा नै कृषिजन्य वस्तुमाथिको परनिर्भरता रहनु दुखद् भएको बताइन् । अहिले कृषि र उद्योगधन्दा सञ्चालनमा सङ्घ र प्रदेश सरकारबीच हानथाप भइरहेको भन्दै अधिकार र कार्य विभाजन गर्दा सोचविचार गरेर मात्रै गर्न उनले सरकारलाई सुझाव दिइन् ।
८४ बिघा क्षेत्रफलमा फैलिएको सो फार्मले आधा क्षेत्रफलमा विभिन्न जातका बीउ उत्पादन गरी किसानलाई वितरण गर्दै आएको छ । फार्मले वार्षिक ८० टन धानको बीउ, १० टन मकै, १० टन गहुँ र चार टन जै घाँसको बीउ उत्पादन गर्दै आएको छ ।
फार्मले कृषि अनुसन्धान केन्द्र (नार्क) ले सिफारिस गरेको मन्सुली, राधा ११, राधा १२, आरपी १०१७, हर्दीनाथ, लालका बासमती, चैते २, तरहरा १ लगायत जातका धानको बीउ उत्पादन गर्ने गरेको जनाएको छ ।