झापाः राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यावसायिक उद्योगका रुपमा विकास गर्न चुनौती रहेको बताएकी छिन् ।
झापाको गौरादह– ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्वारा प्रवद्र्धित नमूना सहकारी खेती एवं साना किसान विकास अभियानका गतिविधिको अवलोकन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
देशको ठूलो हिस्सा मानिएको कृषि क्षेत्र अझै निर्वाहमुखीमा सीमित रहनु चिन्ताजनक भएकाले कृषि क्षेत्रलाई आधुनिकीरण गरेर व्यावसायीकरण गर्न ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
गरीबी निवारणमा सहकारीलाई उपयोगी बनाउन सरकारले उच्च प्राथमिकता दिनुपर्ने र सहकारी अभियान देशकै नमूना भएको उनको भनाइ थियो । ‘सहकारीमार्फत् मुलुकको समृद्धि यात्रालाई टेवा दिन सबै क्षेत्र जुट्नुपर्छ’, उनले भनिन् ‘महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सङ्गठित महिलाको सहकारी अभियानका गतिविधि सबैका लागि उदाहरणीय छन् ।’
सो अवसरमा गौरादह नगरपालिकाका तर्फबाट राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिएको थियो । नगर प्रमुख रोहितकुमार शाहले अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषिलाई व्यावसायिक गरी औद्योगिकीकरण गरिए मात्र कृषिले आर्थिक रुपान्तरणमा फड्को मार्ने बताउँदै कृषि औद्योगिकीकरण गर्न प्रदेश सरकारले जोड दिएको बताए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कृषिको रुपान्तरण र आधुनिकीकरणबिना आर्थिक समृद्धि पूरा नहुने बताए ।