तीजमा चेलीबेटी माइत गई पारिवारिक जमघट गर्दै वर्ष दिनका सुख दुःख साटासाट गर्छन् । तीजका भाका गाउने, नाच्ने, छरछिमेकी जम्मा हुने गर्छन् । पछिल्लो समय गाउँदेखि सहरसम्म आधुनिकताले मौलिक भाकाहरू लोप हुँदै गएका छन् । पुराना भाका बिरलै सुनिन्छ ।

भाउजू–नन्दका खप्की, सासू–बुहारीका कलह, आमा–छोरीका बिलौना र माइती घरको सम्झना वरि-परि रहेर तीजमा गाइने उपयुक्त पुराना लयका गीत गाउँघरमा आज भोलि सुनिँदैनन् । आँगनको डिलमा परालको गुन्द्री ओछ्याइ गाउँभरिका लागि लालटिन र दियालोको उज्यालोमा रातभर तीजका गीत मादलको तालमा गाउँदै-नाँच्दै गरिने रमाइलो एकाएक हराए ।

यस वर्षको हरितालिका तीज सोमबार परेको छ । मन्दिरहरू पूजाआजा न्यून छ । घरमै तीज सीमित भएको छ । तर, पुराना भाका सुनिनै छाडेका छन् । आधुनिक गीतहरूमा हाम्रो समाज, चेलीबेटी रमाइरहेका छन् ।

विवाह गरेर गएकी महिलाले आफ्ना भोगाइ अभिव्यक्त गर्न तीज गीत गाउने परम्परा रहे पनि अहिले तीजका गीतले शब्द, संगीत, भाका कुनै पनि पक्षमा त्यो मर्म बोक्न सकेका छैनन् । कुनै पनि पर्वमा गाइने गीतमा तीन वटा पक्ष–शब्द, संगीत र प्रस्तुति झल्किनुपर्छ ।

अहिले तीजमा गाइने गीतहरूमा न तीजको मर्म बोक्ने शब्द छन्, न प्रस्तुति छ र संगीत नै । परम्परागत रूपमा महिलाहरूले गाउने गरेको तीजका गीत पछिल्ला समय पुरुषले पनि गाउन थालेका छन् ।

मौलिकता झल्काउँछु भनेर दर्शक र श्रोताको नजर नपर्ने बाध्यतामा गायक गायिकाहरू रहेका छन् । तीजका गीतलाई अडियो, भिडियो तथा पछिल्लो समय सामाजिक सञ्जाल र अन्य थुप्रै डिजिटल प्लेटफर्ममार्फत जहिलेदेखि तीजका गीतमाथि व्यवसाय गर्न थालियो र पैसा आम्दानी गर्न थालियो त्यसपछि विकृति भित्र्याएको छ ।

पुराना मौलिकता जोगाउँछु, भाकाहरू हाल्छु भनेर कसैको नजर पर्ने वाला छैन । व्यवसाय गर्नकालागि गीतमा उद्दण्डता मच्चाउनुपर्छ भन्ने मनाशयमा छन् उनीहरू ।

तर विगत केही वर्षहरूदेखि आधुनिकताको नाममा, परिवर्तनको बहानामा अनि सस्तो लोकप्रियता, सजिलो आयआर्जनको लोभमा, तीज जस्तो पवित्र चाडलाई विकृति, विसंगति र यौन स्वच्छन्दताको सिकार बनाइँदै छ । ‘पोइल जान पाम’, ‘डिस्कोमा तीज’, ‘छोटो लुगा’, बिच बिचमा लगायत हुँदै अगाडि बढेको तीज गीतको आधुनिक यात्राले यसपालिको तीजमा ‘दरको साटो रक्सी खाइन्छ’, ‘देखियो जामा फाटेर’ जस्ता गीतले उचाइ छोइरहेको छ । थाहा छैन यो आधुनिकताको स्वच्छन्द गीतले कुन उचाइ छुने हो ? यस्ता उच्छृङ्खल र छाडा गीत, संगीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रियता र सहज आर्जन गराए पनि हाम्रो वैभवशाली संस्कार, संस्कृति एवं परम्परा लाई पटक्कै फाइदा पुग्ने छैन ।

पछिल्लो समयमा मान्छे सहरीकरण हुँदा भिन्न समुदायका व्यक्तिसँगको रहनसहन, बोलिभाषा नमिल्दा सामूहिक रूपमा गाइने तीज गीत हराउँदै गएको छ । सहर बजारमा केही वर्षयता तीजको एक महिना अगावै दर खाने र रमाइलो गर्ने नाममा थुप्रै रकम खर्च हुने गरेको छ । मूलतः नारीका इच्छा, रहर, माइती, पोसाक, गरगहना, अनमेल विवाह र बुहारी भएर बस्दाका पीडा, सासूको थिचोमिचो, आमाबाबु नहुँदा दाजु भाउजूले गरेको उपेक्षा, माइतमा जान नपाउँदाको पीडा जस्ता अनेकौँ विषयको बयान गरिएको सुनिने यस्ता प्रकृतिका तीज गीतलाई परम्परागत वा उहिलेका गीत भन्दा उपयुक्त हुने गरेको पाइन्छ ।

एउटा गीत कसरी सदाबहार बन्दै आएको छ ?

तीजका कयौँ गीत आए । हरेक वर्ष थुप्रै सङ्ख्यामा नयाँ–नयाँ तीजका गीतहरू सार्वजनिक हुन्छन् । तीमध्ये अधिकांश गीतहरू आएकै वर्ष हराउँछन् । तर एउटा तीज गीत छ, जुन वर्षौँदेखि तीजमा गुन्जिँदै आएको छ ।  तीजका बेला सबैभन्दा धेरै सुनिने सदाबहार ‘तीजको रहर आयो बरी लै’ हो । यो गीतमा वर्षौँदेखि महिलाहरू नाचिरहेका छन् । यो गीत तीजको पर्याय नै बनेको छ । तीजको गीत भनेर खोज्दा भेटिने गीतमध्ये सबैभन्दा हेरिएकोमा यो गीत पर्छ । यस गीतलाई उछिन्न अन्य गीतहरूले सकेका छैनन् ।

यो गीत प्रकाश थापाको फिल्म ‘कन्यादान’को हो । गीतमा ‘कन्यादान’की मुख्य कलाकार गौरी मल्ल, सुभद्रा अधिकारी, बसुन्धरा भुषाल लगायतको अभिनय छ । गौरी मल्ल एकल महिलाको भूमिकामा, सुभद्रा उनकी सासूको भूमिकामा, अनि बसुन्धरा गाउँले संगीको भूमिकामा छन् । यिनै पात्रलाई समेटेर सो तीजको गीतको भिडियो तयार भयो । बसन्त श्रेष्ठको कोरियोग्राफीमा गीतको भिडियो बनेको हो । 

गीतको सुरुआतमा तीज आएको जनाउँदै दिदीबहिनीलाई स्वर खोलेर गाउन र मिलेर नाच्न साथीसंगीलाई आग्रह गरिएको छ ।

तीजको अर्को सदाबहार गीत हो, ‘चिटिक्कै भा छु रे’ । यो २०६१ सालतिर सार्वजनिक गीत हो । गीत लेखेका हुन्, राजकुमार बगरले । यसमा सुदाम थापाले संगीत भरेका हुन् भने सिन्धु मल्लले स्वर दिएकी छिन् ।

तीजको गीत तीजको गीतजस्तो हुनुप¥यो । यसको सौन्दर्यको पक्ष सुरक्षित हुनुप¥यो । नत्र भने आन्तरिक मौलिक सुवास लोप हुनसक्छ । अहिले पनि तीजको गीत भनेको लोपोन्मुख अवस्थामा गइरहेको छ । उसो त गीत मात्रै नभई तीज मनाउने चलनमै पनि पछिल्लो समय विकृति आएको पाइन्छ । तीजका गीतमा अघिल्ला वर्षमा निकै छाडापन आएको थियो । यस वर्ष भने तीज गीतमा केही परिवर्तन आएको पनि छ ।

वर्षैपिछे तीजका गीत सार्वजनिक हुने क्रम बढेको छ । युट्युबमा सार्वजनिक दर्जनौँ तीज गीतमध्ये केहीले राम्रो चर्चा समेत पाइरहेका छन् । यस्तोमा टिकटकमा पुराना तीज गीत समेत भाइरल हुने गरेको छन् ।-मेरो फिल्मबाट