इटहरीः प्रदेश १ का १ सय ३७ स्थानीय तहमा पहिलोपटक इलामले लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलनका अभियानकर्मी कृष्ण शाह त यसलाई नेपालकै पहिलो लगानी सम्मेलन भएको बताउँछन् ।

नेपालकै पहिलो लगानी सम्मेलन इलाममा पुस २० गते हुँदैछ । लगानी सम्मेलनको व्यवस्थापनको लागि उपसमितिमा रहेका वडा नम्बर ५ का अध्यक्ष ठाकुर श्रेष्ठ कार्यक्रमको लागि व्यस्त छन् ।

‘४ करोड हाराहारीको आन्तरिक आम्दानी हुने हाम्रो नगरपालिकाले लगानी सम्मेलन र प्रधानमन्त्रीको नागरिक अभिनन्दन सँगै गर्दैछ’, बुधबार राती फोनमा कुराकानी गर्दै श्रेष्ठले भने, ‘यसबाट हाम्रो नगरपालिका र नगरवासी दुवैमा उत्साह छाएको छ ।’

इलामको गौतम बुद्ध सभाहलमा हुने लगानी सम्मेलनमा नेपालका स्थापित लगानीकर्ता, व्यापारिक घराना र उनीहरूका प्रतिनिधि आउँदैछन् । लगानी सम्मेलन अगाडि इलामका मेयर महेश बस्नेतले विभिन्न क्षेत्रमा भ्रमण गरेर सम्भावित लगानीकर्तासँग छलफल पनि चलाएका थिए ।

36063205_1772821189479140_6702516999093747712_n

किन लगानी सम्मेलन गर्दैछ इलाम नगरपालिका ?
१२ वडा भएको इलाम नगरपालिकाको चालु आर्थिक बर्षको बजेट ८९ करोड ८० लाख रुपैयाँ रहेको छ । चालु खर्च र विकास खर्च एकमुष्ट गरेर आएको यो बजेटले इलामको विकासको लक्ष्य र चाहाना पु¥याउँदैन । मेयर महेश बस्नेत भन्छन्, ‘१२ सय जना प्रतिवर्ग किलोमिटरको जनघनत्व भएको र ५० हजार हाराहारी जनसङ्ख्या रहेको नगरको विकासका आशा पूरा गर्न आन्तरिक आम्दानी र स्थानीय स्रोत अपुग भएको छ ।’

उद्योग, पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा धेरै लगानी माग भए पनि स्रोत अपुग भएकाले लगानी सम्मेलन गरिएको मेयर बस्नेत बताउँछन् ।
‘इलामको विकास र आर्थिक समृद्धिको माग इलामकै स्रोत, पूँजी, प्रविधि र लगानीले नपुग्ने देखियो’, लगानी सम्मेलनको बारेमा बोल्दै मेयर बस्नेत भन्छन्, ‘त्यही भएर हामीले लगानीकर्ताहरूलाई ल्याएर लगानी सम्मेलन गर्न लागेका हौँ ।’

लगानी सम्मेलनमा आएका लगानी प्रतिबद्धताको प्राथमिकता पर्यटन, कृषि उद्योग, जडिबुटी, शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने मेयर बस्नेत बताउँछन् । उनी भन्छन्, ‘हामी स्थानीय सरकारको दायरामा पर्ने विभिन्न अधिकार क्षेत्रमा रहेर छुट दिँदै लगानीको सुरक्षा दिनेछौँ ।’