सुनसरीः  विद्यालय शिक्षा ऐन २०८० को प्रस्तावित विधेयकलाई लिएर शिक्षकहरूले आन्दोलनको कार्यक्रम ल्याएको भन्दै सुनसरीको दुहबी नगरपालिकाले शिक्षण सिकाई प्रभावित हुने गरी कुनै पनि आन्दोलनका कार्यक्रम नगर्न निर्देशन गरेको छ ।

एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नगर प्रमुख वेदनारायण गच्छदारले शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरू सम्बन्धित निकायसम्म राख्ने छुट हुँदाहुँदै अर्काको हक हनन हुने गरी आन्दोलनका कार्यक्रम नल्याउन निर्देशन गरेका छन ।

विद्यालयका बालबालिकाको शिक्षण सिकाई नियमित र प्रभावकारी रुपमा हुने गरी सुधार गर्नु शिक्षकहरूको एकमात्र ध्येय रहनुपर्नेमा बालबालिकाको सिकाइमै बाधा उत्पन्न हुने गरी हड्ताल गर्नु कदापि स्वीकार्य नहुने विज्ञप्तिमा जनाइएको छ ।

सार्वजनिक बिदा हुने दिन बाहेक सदा झैँ नियमित विद्यालय सञ्चालन गर्न, गराउन दुहबी नगरपालिका अन्तर्गत सञ्चालित सम्पुर्ण विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई विज्ञप्ति मार्फत् निर्देशन दिइएको छ ।

कानुन विपरीत विद्यालयमा पठनपाठन अवरोध गरेको पाइए दुहबी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ बमोजिम तथा प्रचलित कानुन बमोजिम समेत कारबाही हुने जनाइएको छ ।

duhabi-andolan-1187x1536