इटहरीः इटहरी उपमहानगरपालिकाद्वारा सञ्चालित सुरक्षित आवास गृहमा ५ महिनामा ३० जना पीडितले सेवा लिएका छन् ।

गत साउनदेखि मंसिर मसान्तसम्ममा ३० जनाले सेवा लिएका हुन् । हिंसामा परेका, अलपत्र परेका, आफन्त नभएका लगायतका महिलालाई सुरक्षित आवास गृहमा राख्ने गरेको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् । उनका अनुसार समस्यामा परेका महिलालाई प्रहरीको महिला सेल, जनप्रतिनिधि लगायतले आवास गृहमा बुझाउने गरेका छन् ।

केही समय आवास गृह (सेफ हाउस) मा राखेर प्रहरीमार्फत् नै आफन्तलाई बुझाइने गरेको छ । सेफा हाउसको सेवा प्रभावकारी बन्दै गएको सेफ हाउस संयोजक गङ्गा गुरुङको भनाइ छ । पूर्वका विभिन्न जिल्लाका साथै ललितपुरसम्मका पीडितले सेफ हाउसबाट सेवा लिएका छन् । सेफ हाउसमा सेवा लिने १५ देखि ८० वर्ष सम्मका भएको बताइएको छ ।

सेफ हाउस अहिले भाडाको भवनमा छ । भवन निर्माणका लागि कार्यपालिकामा प्रस्ताव लाने सेफ हाउस व्यवस्थापन समितिको बैठकले निर्णय गरेको बताइएको छ ।