इटहरीः व्यवसाय शुरु गर्दा इटहरीमा ३ किलो पिठोको भक्का बिक्री गर्ने सीता चौधरी आजकाल दैनिक ७ किलो चामलको पिठोको भक्का बेच्ने गर्छिन् ।

३ वर्ष अगाडिदेखि विराटनगर लाइनको बाटो छेउमा जाडोको समयमा भक्काको व्यापार गर्ने गरेकी चौधरीले आजकाल राम्रो व्यापार गर्न थालेकी छिन् ।

‘पैला त मान्छेले भक्का खाँदैन थिए । तर आजकाल कलेज जाने धेरै विद्यार्थीले पर्खिएरै भक्का खाने गरेका छन्,’ चौधरी भन्छिन्, ‘आजाकाल भ्याइनभ्याइ छ । बिहानदेखि नै काममा लाग्ने गरेको छु । आजकाल दिनमा हजार पन्ध्र सय सम्मको व्यापार हुने गरेको छ ।’

सामान्य लगानीबाट शुरू गरेको यो व्यवसायबाट दिनको हजार रुपैयाँभन्दा बढी कमाइ हुने गरेको छ । २ सय रुपैयाँ लगानी गरेर बिहान ४ घण्टा बजारमा भक्का पकाएर बेच्दा १ हजार देखि १५ सयसम्म नाफा हुने गरेको उनले बताइन् ।

सडक किनारमा भक्का बेच्दै आएकी ४० वर्षीया चौधरी बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र आफ्नो ‘पसल’ चलाउँछिन् । उनको पसलमा भक्का खान विद्यार्थी, मर्निङ वाकमा हिँड्ने व्यक्तिहरु लगायत राजनीतिक दलका नेतादेखि, बुद्धिजीवीसमेत आउने गरेका छन् । झापा स्थायी घर भई इटहरीमा बसोबास गर्दै आएकी चौधरीको पसलमा भक्का खान धेरै किसिमका व्यक्ति जाने गरेका छन् ।

लोकप्रिय खाजा भक्काको व्यापार इटहरीमा अहिले राम्रो छ । पूर्व–पश्चिम राजमार्ग र यसका सहायक राजमार्ग संग जोडिएका दर्जनौं ठाउँमा भक्काको व्यापार बिहान–बेलुकाको मौसम चिसिएसँगै शुरू भएको हो ।

‘अरु भन्दा मौलिक र अर्गानिक तरिकाले बन्ने भएकाले जाडो मौसममा सधँै चियासँग भक्काको खाजा खाने बानी लागेको छ’, इटहरीको विराटनगर लाइनमा भक्का खाँदै गरेकी अमिन अली भन्छिन्, ‘बच्चादेखि वृद्धासम्म सबैका लागि यो खाजा स्वस्थकर छ ।’

चौधरी र राजवंशी आदिवासीको मौलिक परिकार ‘भक्का’को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार अहिले ह्वात्तै फस्टाएको छ । पूर्वी तराइका आदिवासीहरूको घरमा मात्र सीमित भक्का बिहानीको खाजाको रूपमा अहिले सडकका पसलमा सबैभन्दा बढी बिक्री हुने बिहानी खाजा भएको छ ।

कलेज जाने बाटोमा चौधरीको जस्तै भक्का पसल एक दर्जनभन्दा बढी छन् । बजारका सबै चोक र गल्लीमा यस्ता भक्का पसलले स्थानीयवासीलाई स्वादिलो मौलिक खाजा मात्र खुवाएका छैनन्, यसबाट सामान्य लगानीमा धेरैको जीविका समेत चलेको छ ।

भक्काको सिजन भनेको जाडो याम हो । कात्तिक मंसिरमा नयाँ धान उत्पादन भएपछि भक्काको सिजन शुरु हुन्छ र जाडो याम सकिएपछि भक्काको सिजन पनि सकिन्छ ।
चामल र कनिकालाई पिसेर बनाइएको पिठोबाट भक्का पकाउने गरिन्छ । भाँडामा तताइएको पानीको बाफमाथि पिठो राखेर भक्का पकाइन्छ ।

सामान्य मूल्यमा हाइजेनिक खाजा
भक्काको मूल्य बढेको छैन । सीता ३ वर्ष अघि १० रुपैयाँमै भक्का बेच्थिन् भने अहिले पनि भक्काको मूल्य १० रुपैयाँ नै छ । ३ वर्षसम्म भक्काको मूल्य यथावत नै छ ।

‘मैले नै भक्का खान थालेको ५–६ वर्ष भयो’ भक्का पसलमा भेटिएका राम मिश्र भन्छन्, ‘एउटा भक्काको मूल्य १० रुपैयाँ भनेको सस्तो हो । खासगरी सामान्य आम्दानीमा रमाउने समुदायका मानिसले बेच्ने भएकाले भक्का सस्तो भएको हो ।’

‘भक्का शहरको ठूूूला होटल र रेष्टुराँमा पनि बेच्नु पर्दछ’, उनी भन्छन्, ‘ठूला होटल तथा रेष्टुराँको मेनुमा चढाउनुपर्छ भक्कालाई ।’

bhakka-1-1