विराटनगरः  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताएका छन । प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको शनिवार उद्घाटन गर्दै  मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन । 

मुख्यमन्त्री कार्कीले भने ‘ कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु प¥थ्यो त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागि  भएको पाइयो । ं’ तत्कालिन प्रदेश नं १ को कोशी नामकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे । 

उनले कोशी नामकरण विरुद्ध जवर्जस्ति आन्दोलन उठाइएको बताउँदै स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीहरुको सहयोगमा काठमाडौ देखिका मानिसहरु ल्याउन थालिएको दाबी गरे । उनले  यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको बताए । 

मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरुले आ आफ्नो धारण सार्वजनिक गरेपनि रबीको पार्टीको धारण प्रस्ट नआएकोमा आश्चर्य व्यक्त गरे । 

 एमालेका अगाडी धेरै समस्या नरहेको प्रस्ट पार्दै एमाले अरुका कारणले नभएर आफ्नै खुट्टामा अल्झिएर लड्ने गरेको उनको भनाइ थियो । मुलुकमा एमाले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी गर्दै तर धेरै ठाउँमा एमालेले नै एमालेलाई हराएको उनको कथन छ । ‘त्यसैले अब एक पटक हरेक मोर्चामा एमाले जिताउ अभियान चलाउन हो भने मात्र  पार्टीले चलाएको मिसन ८४ सफल हुन्छ ’– मुख्यमन्त्री कार्कीले भने । 

सो अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागि हुन आउनु भएका कानुन व्यवसायिहरुले स्थानीय जिल्लामा पीपीएलए  र नेकपा एमालेको अवस्थाबारे अवगत गराएका थिए ।