हिलेः धनकुटा र तेह्रथुमका पशुपालक कृषकहरुले बितेको आर्थिक वर्षमा करिब चार करोड अनुदान रकम पाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालन सम्बन्धि व्यक्तिगत फार्म, समूह र सहकारीहरुले उक्त अनुदान पाएका हुन् ।
भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयमार्फत् विभिन्न सात शीर्षकमा कोशी प्रदेश सरकारको कार्यक्रमबाट ७५ प्रतिशत अनुदान रकम पाएका हुन् । भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुकटाका पशु प्राविधिक पुष्पराज दाहालका अनुसार एक सय वटा दुग्धजन्य तथा पशुपन्छि पालक संस्था र ५८ वटा बाख्रा फार्महरुलाई बोयर बोका अनुदानमा उपलब्ध गराईएको छ। जसमा दुग्ध जन्य उत्पादन कार्यक्रम अन्तर्गत् १० लाख ३० हजार एक सय ३५ बराबरको मोटर सहितको च्याप कटर मेसिन ३५ वटा वितरण गरिएको छ ।
त्यस्तै, युवा लक्षित पशु विकास कार्यक्रम अन्तर्गत २५ वटा फार्महरुलाई ४९ लाख ४१ हजार तीन सय र सहकारी संस्था मार्फत् पशुपालन कार्यक्रम अन्तर्गत एक संस्थालाई तीन लाख ४६ हजार पाँच सय ३९ रुपियाँ अनुदान दिईएको दाहालले बताए ।
बाख्राको बृहत्तर पकेट प्याकेज कार्यक्रम अन्तर्गत् दुई वटा फार्महरुले ८९ लाख ८९ हजार नौ सय र द्वन्द्व पिडित पशुपन्छि पालन कार्यक्रम अन्तर्गत ६ वटा फार्महरुलाई १६ लाख ३७ हजार एक सय ३४ रुपियाँ अनुदान दिइएको छ । त्यस्तै दुग्ध उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ३१ दुग्ध उत्पादक संस्थाहरुलाई एक करोड ९५ लाख दुई हजार २१ रुपियाँ अनुदान दिइएको छ ।
जिल्लागत रुपमा धनकुटाका ८७ वटा र तेह्रथुमका ७१ वटा दुग्धजन्य तथा पशुपन्छि पालक फर्म तथा संस्थाहरुले अनुदान पाएका हुन् । जसमा धनकुटाका ५७ र तेह्रथुमका ४३ वटा दुग्ध उत्पादक तथा पशुपन्छि पालक फार्महरु र बोयर बोका अनुदानतर्फ धनकुटाका २८ र तेह्रथुमका ३० वटा बाख्रा फार्महरुले अनुदान पाएका छन् ।
दुई जिल्लामा हाल पाँच सय ७२ वटा व्यवसायीक पशुपन्छि फार्महरु रहेको पशु सेवा विज्ञ कार्यालय धनकुटाको तथ्याङ्क छ । जसमा धकुटामा सबैभन्दा धेरै एक सय ५२ वटा व्यवसायी बाख्रा फार्म रहेका छन् । त्यस्तै जिल्लामा एक सय २५ वटा गाई÷भैँसी, एक सय ११ बंगुर र ६९ वटा व्यवसायीक कुखुरा फार्महरु छन् ।
तेह्रथुम जिल्लामा पनि सबैभन्दा धेरै ५२ वटा व्यवसायीक बाख्रा फार्म छन् । त्यस्तै जिल्लामा २९ गाई÷भैँसी,२५ बंगुर फार्म र नौ वटा व्यवसायीक कुखुरा फार्म रहेको कार्यालका प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिए । अहिले धनकुटामा ६२ हजार पाँच सय ७५ गाई, १७ हजार दुई सय भैँसी, १८ लाख एक हजार तीन सय ७१ बाख्रा, ३९ हजार दुई सय ४० बंगुर, तीन सय आठ भेडा र ४० लाख एक हजार चार सय ५४ कुखुरा छन् ।
त्यस्तै तेह्रथुम जिल्लामा गाई ५८ हजार २७, भैँसी २७ हजार ८१, बाख्रा एक लाख २७ हजार दुई सय ३७, बंगुर ३७ हजार पाँच सय ४६, भेडा नौ सय ४० र कुखुरा दुई लाख २५ हजार चार सय ९६ रहेको कार्यालयको तथ्यांक छ । गोरखापत्रबाट