खोटाङः  जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम दिक्तेल बजारमा यही असोज १७ देखि २१ गतेसम्म ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सञ्चालन हुँदैछ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले पाँचदिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम राखिएको हो ।

नगरपालिकाको विभिन्न ठाउँमा आयोजना हुने चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा नेपाल, अस्ट्रेलिया, अमेरिका, जापान, लातभिया, लिथुअनिया, दक्षिण कोरिया, युक्रेन, भियतनाम, बङ्गलादेश, भूटान, चीन, इजिप्ट, भारत लगायत विभिन्न १४ देशका ख्यातिप्राप्त चित्रकारहरूको सहभागिता हुने नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।

नगरपालिकाले विनियोजन गरेको रु १८ लाख खर्चमा हुने लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब एक सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने नगरपालिकाले जनाएको छ । चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, विभिन्न जातजातिको सांस्कृतिक झाँकी, स्थानीय कलाकारहरूको नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको आज नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।

images

गत चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवं प्रदर्शनी गर्ने निर्णय पारित गरेको थियो । लाइभ चित्रकला कार्यशाला एवं प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवा नगरपालिकाका १५ वटै वडाबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्त्व सहितका तस्बिरहरू प्राथमिकीकरण गरिसकिएको छ ।

जिल्लाका अन्य नौ वटा स्थानीय तहबाट प्राथमिकीकरण गरिएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलका तस्बिरहरू सङ्कलन भइसकेको नगरपालिकाले जनाएको छ ।

दिक्तेलमा आयोजना गरिने ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रमलाई निकै महत्वका साथ हेरिएको छ ।

चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमका लागि नगरपालिकाले समय तथा कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । मध्यपहाडी लोकमार्ग हुँदै नगरपालिका प्रवेश गर्ने प्रमुख प्रदेश द्वार नुनथलाबाट सुरु हुने कार्यक्रमलाई सफल बनाउन नगरपालिकाका सबै जनप्रतिनिधि तथा कर्मचारीलाई समेटेर विभिन्न उपसमितिहरू गठन गर्नाका साथै कार्यपालिकासहित कार्यविभाजन समेत गरिएको जनाइएको छ ।

नगर प्रमुख भट्टराईको संयोजकत्वमा एक सय ४५ सदस्यीय मूल समारोह समिति, नगर उपप्रमुख विशन राईको संयोजकत्वमा सात सदस्यीय स्वागत व्यवस्थापन समिति, १२ नं वडाध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक दानबहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको जनाइएको छ ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको समेत उपस्थिति रहने कार्यक्रममा जिल्लास्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरिने जनाइएको छ । जिल्लाका पर्यटकीय स्थलहरू ट्याम्के, रुपाकोट, मझुवागढी, भुलभुले लगायतका ठाउँहरूको अवलोकन तथा त्यस ठाउँहरूको समेत चित्र उतार्ने कार्यक्रम राखिएको नगरपालिकाले जनाएको छ । रासस