विराटनगरः  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन ।

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएका मुख्यमन्त्री कार्कीले आज (सोमबार) दुई मन्त्री र दुई राज्यमन्त्री थप गरे । नयाँ मन्त्री थप भएसँगै मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ ।

मुख्यमन्त्री कार्कीले आज बुद्धिकुमार राजभण्डारी र लिलाबल्लभ अधिकारीलाई मन्त्री नियुक्त गरेका छन भने रामप्रसाद महतो र निरन राईलाई राज्यमन्त्री नियुक्त गरेका छन ।

मन्त्रिपरिषद् विस्तारसँगै यस अघि खानेपानी, सिंचाई तथा उर्जा मन्त्री रहनुभएका तिलकुमार मेन्याङ्बो(लिम्बू)को जिम्मेवारी परिवर्तन गरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

सोमबार नियुक्त लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन  भने बुद्धिकुमार राजभण्डारी खानेपानी सिंचाई तथा उर्जा मन्त्री बनेका छन  । यस्तै, रामप्रसाद महतो कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका छन ।

मन्त्रिपरिषद् विस्तारपछि पनि मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी साथमै राखेका छन ।

सर्वोच्च अदालतले अघिल्लो सरकारको वैधानिकता अन्त्य गरेपछि भदौ २२ गते संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको नेताको हैशियतमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन उनले तीन मन्त्री र एक राज्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए  । उनले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन । गोरखापत्रबाट