विराटनगरः राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको उत्पादन प्रणालीसँग जोडिने शिक्षाले मात्रै समृद्ध नेपालको परिकल्पना साकार हुन सक्ने बताएकी छिन् ।
पूर्वाञ्चल विश्वविद्यालयको रजत जयन्तीको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले स्वदेशमै निर्भर रहन सक्ने शिक्षा जरुरी रहेको बताएकी हुन् ।
शैक्षिक ज्ञान आर्जन गरेका युवा विदेशमा रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि विश्वविद्यालयीय अध्ययनलाई प्राविधिकमैत्री बनाउनुपर्नेमा उनको जोड थियो । ज्ञान, विज्ञान, अध्ययन, अनुसन्धान र चिन्तनको अनुपम उदाहरण बन्नुपर्ने शिक्षाले मात्रै देशको आवश्यकता पूरा गर्न सक्नेतर्फ सबैले सचेत रहनुपर्ने उनले बताइन् ।
उनले गुणस्तरीय शिक्षण तथा प्रतिष्पर्धी अध्ययन अध्यापनले विद्यार्थीको क्षमतामा विकास गर्ने बताउँदै बदलिएको परिवेश अनुसारको शिक्षा नीति देशका लागि आवश्यक रहेको उल्लेख गरिन् ।
पूर्वाञ्चल विश्वविद्यालयले देशको जनशक्ति विकासमा खेल्न सक्ने महत्वपूर्ण भूमिकाको चर्चा गर्दै राष्ट्रपति भण्डारीले प्राविधिक शिक्षाको क्षेत्रमा ध्यान दिन आग्रह समेत गरिन् । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई अभिनन्दन समेत गरिएको थियो ।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति गिरिजमणि पोखरेलले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसँग जोड्न जरुरी रहेको बताए । उनले शिक्षक उत्पादन गर्ने प्रणालीमा परिवर्तन आवश्यक रहेको बताउँदै विश्वविद्यालय शिक्षालाई परिवेश अनुसारको बनाउनुपर्नेमा जोड दिए । उत्पादनसँग जोड्न नसकिने शिक्षाको महत्व कम हुँदै गएको बताउँदै उनले पूर्वाञ्चल विश्वविद्यालयको सुधार जरुरी रहेको उल्लेख गरे ।
मन्त्री पोखरेलले विश्वविद्यालयसँग भएको सम्पत्तिको उचित प्रयोगमा ध्यान दिनुपर्ने जरुरी औल्याउँदै, शैक्षिक कार्यक्रम चलाउने क्षेत्रमा नै केन्द्रीय कार्यालय स्थापना गर्न सुझाव समेत दिए ।
विश्वविद्यालयको जमिन र संरचना गोठगाउँमा रहेको तर केन्द्रीय कार्यालय विराटनगरमा राखेर अनावश्यक बहाल खर्च बढिरहेकाले त्यसलाई सच्याउन र सुधार गर्न मन्त्री पोखरेलको सुझाव थियो ।
कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले देशको आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा विश्वविद्यालयले शैक्षिक कार्यक्रम ल्याउनुपर्ने बताए ।
महेन्द्र क्याम्पसमा राष्ट्रपतिको अभिनन्दन
यसैबीच राष्ट्रपति भण्डारीलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले अभिनन्दन गरेको छ । २०३८ सालमा भण्डारीले सो क्याम्पसमा अध्ययन गरेकी थिइन् । राष्ट्रपतिले पूर्वकै शैक्षिक केन्द्रको रूपमा रहेको महेन्द्र मोरङ क्याम्पसले धेरै जनशक्ति उत्पादन गरिसकेको बताउँदै आगामी दिनमा नयाँ कार्यक्रमसहित अघि बढाउन सबै लागि पर्नुपर्ने बताइन् ।