झापाः झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक ५ सय रुपैयाँका दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताए ।

एकल महिलाजस्तै असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भत्ता दिन थालिएको गाउँपालिकाले जनाएको छ । गत वर्ष गाउँपालिकाले ४८ जना एकल पुरुषलाई मासिक ५ सय रुपैयाँका दरले भत्ता प्रदान गरेकोे जनाएको छ ।

त्यसैगरी सो गाउँपालिकाले ८४ वर्षमाथिका १ सय १८ ज्येष्ठ नागरिकलाई सरकारले प्रदान गर्दैै आएको सामाजिक सुरक्षा भत्तामा मासिक ५ सय रुपैयाँ थपेर प्रदान गर्दै आएको पनि अधिकृत दङ्गालले बताए ।

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने झापा गाउँपालिका सम्भवतः प्रदेश नं १ को पहिलो स्थानीय तह हुन सक्ने दङ्गाल बताउँछन् ।