इटहरीः नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन ।
निर्वाचन कमिटीका अनुसार खतिवडाले ५१२ मत प्राप्त गर्नु भएको छ भने ढकालले ४३० मत ल्याए । खतिवडा मोरङको लेटाङ निवासी पूर्व सांसद हुन । ढकाल विराटनगर निवासी नेकपा एमालेको केन्द्रीय सदस्य हुन ।
२०६६ सालमा एमालेको मोरङ जिल्ला अध्यक्षमा खतिवडा र ढकालले प्रतिस्पर्धा गर्दा ढकाल विजयी भएका थिए। त्यस बेला ढकाल केपी ओली समूहबाट र खतिवडा माधव नेपाल समूहबाट उम्मेदवार बनेका थिए। जिल्ला अध्यक्षमा भिडेको १४ वर्षपछि प्रदेश अध्यक्षमा आमनेसामने भएका दुई नेताबीचको प्रतिस्पर्धामा खतिवडाले बाजी मारेका हुन । यस पटक एमाले अध्यक्ष ओलीको खतिवडालाई साथ रहेको थियो ।
यस्तै प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन । उपाध्यक्षमा उनको एकल उम्मेदवारी थियो । उनी यस अघि पनि प्रदेशको उपाध्यक्ष रहेका थिए । दुई वटा प्यानल बनाएर खतिवडा र ढकाल मैदानमा उत्रिएका थिए । चेम्जोङलाई दुवै प्यानलले उपाध्यक्षमा राखेका थिए ।
यस्तै पाँचथरका राजकुमार भण्डारी सचिवमा निर्वाचित भएका छन । उनले ५२४ मत ल्याएर विजयी बन्दा उहाँका प्रतिद्वन्दी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे। लामा यस अघि प्रदेशको उपसचिव रहेका थिए ।
यस्तै उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन । उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याए। दुई उपसचिवका लागि तीन जना प्रतिस्पर्धामा रहेका थिए। सचिव र उपसचिव खतिवडा प्लानलबाटै विजयी भएका छन । सदस्यहरुमा भने मिक्षित नतिजा आएको छ ।
यस्तै मजदुर तर्फबाट सदस्यमा भीमज्वाला राई, अम्बिर लिङ्देन र किशोर धमला विजयी भएका छन। यस्तै खुल्ला सदस्यमा तेह्रथुमबाट लक्ष्मण तिवारी, आदिवासि महिलामा मौसम राई, मजदुर महिलामा निर्मला परियार, सदस्य हलमा कबिता राई विजयी भएका छन ।
अधिवेशनका लागि प्रदेशभरबाट ९९७ जना प्रतिनिधि छनोट भएर आएका थिए । तीनमध्ये ९७७ जना मतदानमा सहभागी भएको र २० जनाले मतदान नगरेको निर्वाचन कमिटीले जनाएको छ ।