बाजुराः बाजुरामा भूकम्पको प्रारम्भिक विवरण अनुसार  १० घरमा पूर्ण क्षति भएको छ । 

खप्तड छेडेदह गाउँपालिका ३ टुनिसैनका ५ घर भत्किएका छन्  भने बडिमालिका नगरपालिका ९ मा ३ घर वडा नम्बर ५ मा एक घर र त्रिवेणि नगरपालिकामा १ घरमा पूर्ण रुपमा क्षति भएको छ  । त्यस्तै बुढिगंगा नगरपालिकाको महेन्द्र आधारभूत विद्यालयको भवन पनि पूर्ण रुपमा क्षति भएको विवरण आएको छ।

दिउँसोको समय भएकाले जिल्लामा मानवीय क्षति भने भएको विवरण आएको छैन। यस्तै बाजुराका विभिन्न गाँउमा भूकम्पका कारण अधिकांश स्थानीयका घरहरू सयौँको सङ्ख्यामा चर्किएको खबर आइरहेका छन् । यता जिल्ला प्रहरी कार्यालय बाजुराले धेरै ठाउँमा क्षति भएको खबर आएको भएपनि अहिले नै पूरा विवरण नआएकाले आधिकारिक जानकारी गराउन नमिल्ने जनाएको छ ।

यता जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार क्षति  भएका ठाँउहरुमा तत्काल उद्धार टोली पठाउने तयारी भइरहेको छ । सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरिसकेको पनि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए।