धनगढीः बझाङ केन्द्र विन्दु भएर आज दिउसो दुई पटक गएको भूकम्पमा परि बझाङ र बैतडीमा गरि ७ जना घाइते भएका छन् । 

भूकम्पले दर्जनौँ घर तथा भवनमा क्षति पुर्‍याएको छ । आज दिउसो २ बजेर ४० मिनेटमा तलकोट केन्द्र विन्दु भएर ५ दशमलव ३ म्याग्नेच्युट र दिउसो ३ बजेर ७ मिनेट जाँदा सदरमुकाम चैनपुर केन्द्र विन्दु भएर ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको प्रहरीले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भरत बहादुर बोहराले भूकम्पमा परी बझाङमा ५ जना घाइते भएको र उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको बताए । उनले बैतडीमा २ जना घाइते भएको र घाइतेको अवस्था सामान्य रहेको बताए।

भूकम्पका कारण बझाङ, डोटी, अछाम र बाजुराका विभिन्न ठाउँमा गरि दर्जनौँ घर तथा भवनमा क्षति पुगेको प्रहरीको भनाई छ । क्षतिको एकिन विवरण सङ्कलनका लागि भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली खटिगएको बताइएको छ ।